काठमाण्डु– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा संस्थापन इतर समूहले आयोजना गर्न लागेको राष्ट्रिय भेलामा सहभागी हुने भएका छन् ।
इतर समूहका नेता डा. प्रकाशशरण महतले देउवा भेलामा सहभागी हुने बताए । महतका अनुसार देउवा २६ वा २७ साउनमा स्वदेश फर्कनेछन् ।
‘शेरबहादुर दाई २६ गते नेपाल आउने तयारीमा हुनुहुन्छ, ‘फ्लाइट टिकट’ को कारणले एक दिन पछि सर्ने सम्भावना पनि छ’, महतले काठमाण्डु पार्टीसँग भने, ‘उहाँलाई हामीले राष्ट्रिय भेलामा आउनुपर्छ भनेका छौं । उहाँले आउँछु पनि भन्नुभएको छ ।’
महतका अनुसार देउवाले राष्ट्रिय भेलालाई विशेष सम्बोधनसमेत गनेछन् ।
काँग्रेसको संस्थापन इतर समूहले आगामी साउन २७ देखि २९ सम्म काठमाण्डुमा राष्ट्रिय भेला आयोजना गरेको छ ।
काँग्रेस संस्थापक बिश्वेश्वरप्रसाद कोइराला पुत्र एवं पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा भेला आयोजना हुन लागेको हो ।
सर्वोच्च अदालतले कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा देउवाले दर्ता गराएको निवेदनका आधारमा बिहीबार मात्र पुनरावलोकनको अनुमति दिएको थियो ।
प्रधानन्यायाधीश मनोजकुमार शर्मा तथा न्यायाधीश नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको इजलासले विशेष महाधिवेशनसम्बन्धी विवाद पुनः परीक्षण गर्न आदेश दिएको हो ।
विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा चुनिएको केन्द्रीय समितिलाई वैधता दिने सर्वोच्चको यसअघिको फैसला पुनरावलोकनका लागि देउवाले गत ७ साउन र पूर्वकार्यबाहक सभापति पूर्णबहादुर खड्काले १२ साउनमा फरकफरक निवेदन दिएका थिए ।
गत वर्षको २४ भदौमा जेनजी आन्दोलनकारीको सांघातिक आक्रमणमा घाइते भएका देउवा १३ फागुनमा फलोअप उपचारका लागि सिंगापुर गएका थिए ।
उतैबाट ७ चैत हङकङ पुगेका देउवा ५ महिनापछि स्वदेश फर्कन लागेका छन् ।




प्रतिक्रिया