महिला अधिकारको सुनिश्चितता भएको छ : प्रधानमन्त्री देउवा

महिला अधिकारको सुनिश्चितता भएको छ : प्रधानमन्त्री देउवा


काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवाले राज्यका रहेक निकाय, तह, तप्का र संरचनामा महिला अधिकारको सुनिश्चितता भएको बताएका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाद्वारा लिखित ‘नेपालीका सपना अधुरै’ नामक पुस्तकको आज विमोचन गर्दै उनले महिलालाई आरक्षण अधिकार दिनेमा नेपाल विशेष मुलुक भएको बताएका हुन् ।

उनले राष्ट्राध्यक्षका रुपमा राष्ट्रपति, सभामुख, उपसभामुख तथा गाउँपालिकादेखि नगरपालिकासम्म प्रमुख र उपप्रमुख पदमा महिलाले नेतृत्व गरिरहेको उल्लेख गरे । “नेपाल मात्रै यस्तो देश हो, जुन देशमा महिलालाई हरेक क्षेत्रमा ३३ प्रतिशत अधिकार दिइएको छ, राज्यका हरेक निकायमा महिलालाई आरक्षणको व्यवस्था छ, आफ्नो पार्टी ९नेपाली कांग्रेस०ले पनि ३३ प्रतिशत महिलाहरुलाई आरक्षण दिएको छ, त्यतिमात्रै होइन स्थानीय तहहरुमा पनि महिला सहभागिता सुनिश्चित गरिएको छ, राष्ट्रपति, सभामुख, उपसभामुख पदमा पनि महिलाले नेतृत्व गरिसक्नुभएको छ, त्यसैले धेरै ठाउँमा हामीले महिलालाई आरक्षण दिएका छौँ”, प्रधानमन्त्री देउवाले भने ।

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले महिला अधिकार र सहभागिताका सवालमा सरकार तथा राजनीतिक दलहरु पनि गम्भीर रहेको बताए । नेपाल समानुपातिक प्रतिनिधित्व गर्ने मुलुक रहेको उदाहरण दिदैँ उनले दलित, आदिवासी, जनजाती पिछडिएका क्षेत्रलाई आरक्षण दिएर समावेशी समानुपातिक प्रतिनिधित्व गराएको भन्दै भोलिका दिनमा पनि पार्टी संरचनादेखि राज्यका हरेक निकायमा महिला सहभागिता बढाउने गरेर काम गर्ने बचन दिए ।

प्रधानमन्त्री देउवाले नेतृ सङ्ग्रौला अत्यन्त मेहेनती र महिलाको हक अधिकारका लागि लडिरहेको व्यक्तित्व भएको उल्लेख गर्दै मुलुकको समसामयिक परिवेष्टलाई समेटेर पुस्तक प्रकाशन गरेकामा लेखिका संग्रौलालाई बधाई दिए ।

कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा अमरराज जोशीले नेपालीका सपना अधुरै नामक पुस्तकले परिवर्तित र चेतनशील समाजको परिवेष्टलाई यथार्थ रुपमा चित्रण गरेको बताए । हिजोको राजनीतिक घटनाक्रम र बेथितिको दस्तावेजीकरण रहेको पुस्तकले सामाजिक सुरक्षा, विकास, सुशासन र प्रजातान्त्रिक अभ्यासलाई कसरी सबलीकरण गर्नेजस्ता विषयलाई मिहीन ढङ्गले प्रस्तुत गरेको उनले बताए ।