देउवा नियमित काममा फर्किए, मन्त्रिपरिषद्को बैठक बस्दै


काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवा नियमित काममा फर्किएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोभिड भएपछि होम आइसोलेसनमा बसेका प्रधानमन्त्री देउवा नियमित काममा फर्किएका हुन् ।

देउवा आइसोलेसनमा बसेपछि मन्त्रिपरिषद्को नियमित बैठकसमेत बस्न सकेको थिएन । दुई पटक गरिएको कोभिड परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि उनी नियमित काममा फर्किएका हुन् ।

उनले आजकालागि मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा हुने अन्य कार्यक्रममा पनि प्रधानमन्त्री देउवा सहभागी हुने कार्यक्रम छ। उनले गत शनिबारदेखि राजनीतिक भेटघाट, औपचारिक कार्यक्रमलाई स्थगित गर्दै आइसोलेसनमा बसेका थिए ।

सर्वदलीय तथा सत्ता गठबन्धनका बैठकमासँगै सहभागी भएका नेकपा (माओबादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसहित केही नेताहरुलाई कोभिड भएपछि प्रधानमन्त्री देउवाले गत शनिवारबाट प्रधानमन्त्री निवास बालुवाटार र सिंहदरबारका सबै कार्यक्रम स्थगित गरेर आइसोलेसनमा बसेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement