गठबन्धन र परमादेशलाई खुसी बनाउँदै बित्यो देउवा सरकारको ६ महिना


काठमाण्डु – गत साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदा नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले भनेका थिए– सरकार कसरी चलाउने हो, हामी देखाउँछौं ।

रिजालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिएका थिए तर कांग्रेस सरकारमा आएको ६ महिना पुरा हुँदा पनि मुखले बाहेक कामले देखाउन नसकेको राजनीतिक विश्लेषकहरू बताउँछन् ।

केपी शर्मा ओलीको विकल्पमा तत्कालीन नेकपासहितका सांसदको समर्थन लिएर जेठ ८ मै प्रधानमन्त्री दाबी गरेका देउवालाई राष्ट्रपति विद्या भण्डारीले प्रधानमन्त्री बनाउन अस्वीकार गरिन् । लगत्तै संसद् विघटन गरेपछि सर्वोच्च पुगेका देउवालाई शपथ ग्रहण गराउन अदालतले परमादेश जारी ग¥यो । सर्वोच्चको आदेशपछि असार २९ देउवाले प्रधानमन्त्रीको शपथ लिएका थिए ।

पाँचौंपटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका देउवाको ६ महिने कार्यकाल खासै उपलब्धिमुलक हुन नसकेको भन्दै आलोचना भइरहेको छ। मन्त्रिपरिषद्लाई पूर्णता दिन तीन महिना खर्चिएका देउवाले प्रतिपक्षलाई मनाउन नसक्दा संसद प्रभावकारी ढंगले चल्न सकेको छैन। संसदमा प्रमुख प्रतिपक्ष नेकपा (एमाले)को निरन्तर अवरोध कायमै छ। न्यायालयमा देखिएको अनियमितता र भ्रष्टाचारले न्याय सम्पादनमै गम्भीर प्रश्न उठेको छ। तर‚ सरकार न्यायालयको विवादमा कार्यपालिकाले हस्तक्षेप गर्न नहुने तर्क गरेर पन्छिरहेका छन्।

जसले न्याय सम्पादनमै आशंका पैदा गराएको छ। यति बेला कोरोना महामारीको नयाँ भेरियन्टसँगै तेस्रो लहर तीव्र देखिएको छ । संक्रमण नियन्त्रणमा सरकार उदासीन देखिएको, परीक्षणको दायरा बढाउन नसकेको र खोप अभियानलाई प्रभावकारी बनाउन नसकेको गुनासो बढेको छ । जवकी देउवाले विश्वासको मत लिँदै सरकारको प्राथमिकता कोरोना विरूद्धको ‘खोप, खोप र खोप’ हुने बताएका थिए । देउवाले पटक-पटक अवसर पाए पनि सदुपयोग गर्न नसकेको बताइएको छ ।

मिनेन्द्र सरकारबारे बोल्नै चाहेनन्

नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीलाई संसदमा ‘सरकार कसरी चलाउने हो, हामी देखाउँछौं’ भन्ने मिनेन्द्र रिजाल अहिले सरकारबारे बोल्न चाँहदैनन् । उनले सरकारको विषयमा आफूले बोल्न छोडिसकेको बताए । ‘सरकारका विषयमा के केही बोल्दिनँ । म आफैं सरकारबाट बाहिरिएको मान्छे के बोलौं ?,’ रिजालले प्रतिप्रश्न गरे ।

करिब ३ महिना रक्षा मन्त्रालयको जिम्मेवारीमा रहेका रिजाल अहिले सक्रिय राजनीतिबाट बाहिर छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्रीमा पराजित भएपछि रिजालले रक्षामन्त्रीबाट राजीनामा दिएका थिए ।

के भन्छ सत्ता र प्रतिपक्ष ?

सरकारको ६ महिने कार्यकालबारे सत्ता र प्रतिपक्षले आ–आफ्नो प्रतिक्रिया दिएका छन् । नेपाली कांग्रेसका नेता रमेश लेखकले सरकारले राम्रो काम गरेको प्रतिक्रिया दिए । उनले खोपका विषयमा सरकारले राम्रो काम गरेको बताए । ‘यो सरकारले कोभिड भ्याक्सिन लगाउने काम गरेकै छ । अहिलेका लागि महत्वपूर्ण काम त्यही हो,’ उनले भने । साथै लेखकले सरकार नढल्नु नै उपलब्धी भएको बताए । उनले गठबन्धन संस्कृतिमा सरकार चलाउन सकिन्छ भन्ने कुरा स्थापित भएको दाबी गरे । यता नेकपा एमालेका सचेतक शान्ता चौधरीले परमादेशको सरकार जनताको काम गर्नका लागि नबनेको बताइन् । उनले एमालेलाई कमजोर बनाउन बनेको सरकार जनताप्रति नभई गठबन्धन र परमादेशप्रति जवाफदेही भएको बताइन् ।

‘यो सरकारलाई प्रतिपक्षको नजरबाट मात्र हेर्दिनँ । आम जनता र राजनीतिज्ञ एवं स्वतन्त्र नागरिक भएर कुरा गर्दा सरकार काम गर्न गएकै होइन । एमालेको कार्यकालमा गरेका लोकप्रिय कामहरू जनतासँग निकट भएर एमालेले गरेका कामहरूलाई कसरी जनताकाबीचमा एमालेलाई कमजोर बनाउने, एमालेको कामलाई कसरी निषेध गर्ने कार्यमा उद्धत भयो । सरकार सत्तामा जानुको मुख्य कारण यही हो । जनताको जनादेशबाट बनेको भए पो जनताप्रति उत्तरदायित्व हुन्छ त ? सरकार जनाादेशप्रति उत्तरदायी भएन, गठबन्धन र परमादेशलाई खुसी बनाउँदै ६ महिने कार्यकालहरू सकियो भन्ने लाग्छ । एमालेले बनाएका आयोगहरू खारेज गर्ने र एमाले नेतृत्वको सरकारले बनाएका नीतिहरू उल्ट्याउने काममा केन्द्रीत देखियो,’ सचेतक चौधरीले भनिन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement