काठमाण्डु- प्रधानमन्त्री तथा नेपाली कांग्रेसका शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको छ । स्रोतका अनुसार देउवा र नेपालबीच एमसीसी विवादका कारणले सत्ता गठबन्धनमा उत्पन्न मतभेदबारे छलफल भएको हो ।
हालको पाँच दलीय गठबन्धन जोगाएर एमसीसी पारित गराउने लाग्नुपर्नेमा देउवा र नेपाल सहमत भएका छन् । नेपालसँगको भेटपछि देउवा पार्टीका शीर्ष नेतासँग आन्तरिक छलफलमा जुटेका छन् ।
प्रधानमन्त्री देउवा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की लगायतसँग छलफलमा जुटेका छन् । यता नेकपा माओवादी केन्द्रले एमसीसी संसोधन नगरी पास गर्न सहयोग नगर्ने अडान कायमै राखेको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सचिवालय बैठकले गठबन्धन बचाउन अन्तिम कोसिस गर्ने समझदारी गरेको प्रचण्डको निजी सचिवालयले जनाएको छ । बैठक प्रचण्ड निवास खुमलटारमा बसेको थियो । बैठकमा केन्द्रीय कार्यालयका साथै पूर्वस्थायी समिति सदस्य तथा मन्त्रीहरूको पनि उपस्थिति थियो ।
बैठकले एमसीसीबारे पार्टीको पूर्ववत् सैद्धान्तिक धारणामा रही गठबन्धन बचाउन अन्तिम कोसिस गर्ने समझदारी भएको प्रचण्डकी छोरी गंगा दाहालले जानकारी दिइन् । बैठकमा माओवादी नेताहरूले एमसीसी पास वा फेल जे भए पनि गठबन्धन भने नटुटाउने विषयमा आ—आफ्नो धारणा राखेका थिए ।




प्रतिक्रिया