शुक्रबारसम्म बागी उम्मेदवारलाई मनोनयन फिर्ता लिन देउवाको अपिल

शुक्रबारसम्म बागी उम्मेदवारलाई मनोनयन फिर्ता लिन देउवाको अपिल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनमा देशभर पार्टी र गठबन्धनका उम्मेदवारविरुद्व स्वतन्त्र उम्मेदवारी दिएका नेता कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन् ।

बिहीबार एक अपील जारी गरेर प्रधानमन्त्री देउवाले बागी उम्मेदवारी फिर्ता लिई पार्टीका आधिकारिक उम्मेदवार र गठबन्धनमा रहेका दलका उम्मेदवारलाई विजयी बनाउन आग्रह गरेका हुन् ।

‘एउटा योग्य साथी एउटा पदमा उम्मेदवार बन्दै गर्दा अर्को उत्तिकै योग्य साथीले त्यो अवसर नपाइरहेको स्थितिप्रति म जानकार छु । तर पार्टीको विजयका लागि ‘साथीको उम्मेदवारी नै मेरो उम्मेदवारी’ भन्ने उच्चतम भावना राख्न आग्रह गर्दछु,’ देउवाले भनेका छन्, ‘पार्टीको एकल उम्मेदवारी भएको तह होस् या सत्ता गठवन्धनका दलहरूसंग तालमेल भएको तह, त्यहाँको विजय अभियानलाई त्याग, एकता र समर्पणका साथ सफल बनाउन म अपिल गर्दछु ।’

साथै उनले देश, लोकतन्त्र र पार्टीको हितमा मुलुकको वर्तमान अवस्था र भावी परिस्थितिको समेत आंकलन गरी आ–आफुले दर्ता गरेको उम्मेदवारी शुक्रबारसम्म उम्मेदवारी फिर्ता लिन आह्वान गरेका छन् । ‘देशभरका स्थानीय तहका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष र वडा अध्यक्ष, सदस्य पदमा पार्टीका आधिकारिक उम्मेदवारका विरूद्ध स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएका पार्टीका साथीहरूले देश, लोकतन्त्र र पार्टीको हितमा मुलुकको वर्तमान अवस्था र भावी परिस्थितिको समेत आंकलन गरी आ–आफुले दर्ता गराउनु भएको स्वतन्त्र उम्मेदवारी निर्वाचन आयोगले तोकेको समय (२०७९ वैशाख १६ गते बेलुकी ५ः०० बजेभित्र) सम्बन्धित तहको निर्वाचन अधिकृतको कार्यालयमा गई फिर्ता लिई दिनु हुन र पार्टीका आधिकारिक उम्मेदवार र गठबन्धनमा रहेका दलका उम्मेदवारलाई विजयी बनाउन सम्पूर्ण सक्रियताका लागि हार्दिक अपिल गर्दछु,’ देउवाले भनेका छन् ।