काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवाले प्रस्तावित क्षेत्रभन्दा केही वरपर सारेर निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिने बताएका छन् ।
आइतबार बाराको निजगढ सार्वजनिक सरोकार समितिको ज्ञापनपत्र बुझ्दै देउवाले टाँगियावस्तीको हाल प्रस्तावित स्थानभन्दा केही पूर्वको स्थानमा सारेर भए पनि सरकारले निजगढ विमानस्थल बनाएरै छाडने आश्वासन दिएका हुन् ।
देउवाले विमानस्थल बनाउने भएर नै सरकारले चालु आर्थिक वर्षको बजेटमा समेत रकम छुट्टयाएको बताएको सरोकार समितिका संयोजक एकबहादुर श्रेष्ठले जानकारी दिए । उनीहरुको टोलीले निजगढमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नुपर्ने माग राखेर आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।
निजगढको वन क्षेत्रसमेत समावेश गरी विमानस्थल निर्माणको योजना सरकारको छ । तर सर्वोच्च अदालतले विमानस्थल निर्माणसम्बन्धी सरकारका सबै निर्णय बदर गरिदिएको छ । यद्यपि परमादेशको संक्षिप्त वा पूर्ण पाठ आइनसकेकाले अन्यौल कायमै छ ।
सरोकार सिमितले एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवलाई पनि ज्ञापन पत्र बुझाएको छ । पूर्वप्रम ओली र प्रचण्डले पनि विमानस्थल बनाउनुपर्ने कुरामा जोड दिएको बताइएको छ ।




प्रतिक्रिया