काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण तत्काल नहुने भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण तत्काल नहुने जानकारी दिएका हुन् ।
बिहीबार माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा प्रचण्डले देउवाले आफ्नो तत्काल अमेरिका भ्रमण नहुने भनेर जानकारी गराएको बताए । ‘प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण निश्चित छैन । राष्ट्र संघको साधारणसभाका क्रममा हुनसक्छ । तत्काल भ्रमण सम्भव छैन । भ्रमण स्वीकृत छैन भन्ने छ ।’, उनले भने ।
सकारले अमेरिकासँग एसपीपी संझौता नगर्ने निर्णय गरिसकेको छ । एसपीपीलाई सरकारले अस्कार गर्ने निर्णय गरेपनि नयाँ नाममा सोही प्रकृतिको सम्झौता हुनसक्ने चर्चा भइरहेको छ । तर देउवाले कुनै पनि नाममा सम्झौता हुँदैन भन्ने विश्वास दिलाएकोसमेत प्रचण्डको दावी छ ।
‘एसपीपी नगर्ने भनेर निर्णय भइसकेको छ । तर, अर्को नाममा हुने भनेर फेरि मिडियामा चर्चा चलेको छ । हिजो मात्रै प्रमसँग भ्रमणबारे के हो भनेर सोधेको थिएँ । एसपीपी नबढाउने भन्ने त भएको थियो । यसमा साँचो कुरा भनिदिनु पर्यो भन्दा कुनै पनि नाममा केही सम्झौता हुँदैन भनेर विश्वास दिलाउनु भएको छ’, उनले भने ।




प्रतिक्रिया