काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवाले जन्ममिति फरक परेको विषयमा आफूविरुद्ध परेको उजुरीको जवाफ बुझाएका छन् ।
नागरिकता र मतदाता नामावलीमा जन्ममिति फरक–फरक रहेको भन्दै नेपाली कांग्रेसका सभापति समेतर रहेका देउवाविरुद्ध उजुरी परेको थियो । सो उजुरीको देउवाले मंगलबार पत्नी आरजु राणा देउवामार्फत मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुरामा जवाफ बुझाएका हुन् ।
डडेलधुराका मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले प्रमाणसहित उजुरीको जवाफ आएको जानकारी दिए । उनले भने, ‘२ बजेसम्म जवाफ दिने समय तोकिएकोमा दुई घण्टाअगाडि नै जवाफ आइसकेको छ । छानबिन गर्दै आज साँझ ५ बजेसम्म निर्णय लिन्छौँ ।’
उमेदवारविरुद्ध परेका उजुरीको निर्णय निर्वाचन अधिकृतले नै गर्न पाउने कानुनी व्यवस्था छ । देउवापत्नी आरजुले प्रमाणका रूपमा वडा कार्यालयको सिफारिस पनि बुझाएकी छन् ।
यस्तै, नागरिकताअनुसार नै निर्वाचन आयोगले मतदाता नामावली तयार पारेकाले विवरण प्रविष्ट गर्दा आयोगले नै त्रुटि गरेको जवाफमा उल्लेख गरिएको छ ।
एउटामात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको डडेलधुराबाट उमेदवारी दिएका देउवाको उमेदवारी रद्द गर्नुपर्ने माग गर्दै उनका प्रतिस्पर्धी कर्ण मल्लले सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका थिए ।
नागरिकतामा देउवाको जन्ममिति वि।सं। २००३ साल जेठ ३१ गते र मतदाता नामावलीमा जन्ममिति २००२ साल जेठ ३१ गते रहेको पाइएको छ ।




प्रतिक्रिया