रामचन्द्रले देउवालाई भने– प्रधानमन्त्री नभए पनि गणेशमानलाई जनताले पूज्छन्, तपाईंलाई कस्ले पुज्छ?

रामचन्द्रले देउवालाई भने– प्रधानमन्त्री नभए पनि गणेशमानलाई जनताले पूज्छन्, तपाईंलाई कस्ले पुज्छ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं- कांग्रेस नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाको पूजा गर्न नसकिने बताएका छन् । यसअघिको केन्द्रीय समिति बैठकमा बाँडेको पर्चाका कारण आफूमाथि आरोप लागेपछि पौडेलले त्यसको बचाउ गर्दै नेतृत्वको आलोचना गरेका हुन् ।

‘महादेव भोगी भएनन् त्यागी भए र पूजा हुन्छ,’ शुक्रबार बैठकमा डेढ घन्टा बोलेका पौडेलले भने, ‘तपाईं (शेरबहादुरजी) चारपटक प्रधानमन्त्री हुनुभयो । तर, त्यागमा लाग्नुभएन भोगी हुनुभयो । त्यसैले चारपटक प्रधानमन्त्री हुनुभयो भनेर तपाईंको पूजा गर्न सकिँदैन ।’ त्यागभन्दा भोगको राजनीतिमा लागेकाले आफूले गिनिज बुकमा नाम लेखाउन भनेको दलिल पेस गर्दै उनले आफूले पहिले लगाएको आरोपको बचाउ गरे ।

जिम्मेवार नेताले मर्यादा भुल्दै अराजनीतिक गाली गरेर पार्टीलाई नै बदनाम गरेको भन्दै नेता विमलेन्द्र निधि, डा. प्रकाशशरण महतसहितका नेताले दुई दिनअघिको बैठकमा पौडेलको प्रस्तावको आलोचना गरेका थिए । तर, शुक्रबार जवाफ दिने क्रममा पौडेलले चारपटक प्रधानमन्त्री भए पनि देउवाको पूजा हुँदैन, तर एकपटक पनि प्रधानमन्त्री नभएका गणेशमान सिंहलाई सबैले पुज्ने गरेको बताएका थिए ।

पौडेलले समीक्षा बैठक सुरु हुनुपूर्वकै बैठकमा सभापतिमाथि गुटको मात्र नेता बनेको, विधान मिचेको, नैतिक शब्दकै अर्थान्तर गरेको, शेरबहादुर जिन्दावाद भन्न सिकाएको, तर कांग्रेस जिन्दावाद भन्न नसिकाएको, सभापतिको कमजोर अवस्थाले देशभर कांग्र्रेसलाई खुट्टा राख्ने ठाउँसमेत नभएको जस्ता आरोपले भरिएको पर्चा बाँडेका थिए ।

तपाईंहरूका आँखै पूर्वाग्रही
५१ सालमा गिरिजाप्रसादले संसदीय दलको नेता छाडे पनि यसपटक पार्टी हार्दा देउवाले नछाडेको भन्दै लोभ देखाएको आरोप पौडेलले लगाए । ‘त्यागले मान्छेलाई माथि लान्छ, तर भोगले पतन गराउँछ भन्न खोजेको हो ।

मैले कति धेरै सुझाब पनि दिएको छु, तर साथीहरूले सुझाब देख्नुभएन,’ आफूमाथि सभापति पक्षधर नेताले लगाएको आरोपको खण्डन गर्दै पौडेलले भने, ‘तपाईंहरू यस्तै पूर्वाग्रही आँखाले हेर्नुहुन्छ । आरोप लगाएको भन्नुहुन्छ । हिजो गिरिजादेखि सुशीलजीलाई नालायक भन्ने अनि राजीनामा माग्ने तपाईं नै हो, मैले त हट्नुस् भन्या छैन । तपाईंले जस्तो भनेको छैन । सुधारेर जाऊँ भनेको छु ।’

हारको जिम्मा सभापतिले नै लिनुपर्छ
निर्वाचनमा पार्टीले अनपेक्षित पराजय बेहोरेको भन्दै पौडेलले यसमा नैतिक जिम्मेवारी सभापतिको भएको प्रस्ट्याए । ‘पार्टीको नेतृत्व गर्ने र उहाँकै नेतृत्वमा निर्वाचनमा गएपछि हारको नैतिक जिम्मेवारी उहाँकै हो,’ उनले भने, ‘हामी अरूले पनि कति जिम्मेवारी लिनुपर्ने हो लिन्छौँ, तर उहाँ जिम्मेवारी नलिइकन उम्किन मिल्दैन ।’

पौडेलले निर्वाचनपछि पार्टीलाई नयाँ कार्यशैली र ऊर्जाका साथ सञ्चालन गर्नुपर्ने भन्दै वैशाखभित्रै जिल्ला सभापतिको भेला र जेठ महिनामै बस्ने गरी महासमितिको बैठक बोलाउन माग गरे । युवाहरूले उठाएको पार्टी सुधारका माग उचित भएको भन्दै उनले छिटो महासमिति डाक्न आग्रह गरेकाे खबर आजको नागरिक दैनिकमा बालकृष्ण अधिकारीले लेखेका छन्।

राजदूत, आइजिपी, महाअभियोगसम्मले पार्टीलाई क्षति
पौडेलले राजदूत नियुक्ति, आइजिपी प्रकरणको विवाद र प्रधानन्यायाधीशविरुद्ध महाअभियोगको विषयले समेत पार्टीलाई क्षति पुगेका दाबी गरे । ‘राजदूत नियुक्तिमा परराष्ट्रमन्त्री र सभापति (प्रधानमन्त्री) बीच झगडा देखियो । व

रिष्ठ प्राध्यापकलाई बनाऊँ, मधेसबाट छानौँ भन्दा तपाईंले नै विवादित मान्छे ल्याउनुभयो,’ पौडेलले भने, ‘आइजिपीमा तपाईं र गृहमन्त्रीबीचको झगडा के थियो ? के त्यो झगडाले राम्रो गर्‍यो ? राजीनामा दिनेसम्मको अवस्था कसरी आयो ?

महासमिति बैठक बोलाइँदै
कांग्रेसले महासमितिको बैठकको मिति तोक्ने तयारी गरेको छ । प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार दुवै पक्षका नेताको दाबीको बीचतिर बैठक तोकिनेछ । सभापति देउवाले दशैँआसपास महासमिति गरौँ भनिरहे पनि पौडेल र सिटौला पक्षले जेठभित्रै बोलाउन माग गरिरहेका छन् । यसको बीचबाट बैठक तय हुने शर्मा बताउँछन् ।