भागरथी भट्ट हत्याको तत्काल अनुसन्धान गरी दोषीमाथि कारबाही गरियोस्ः देउवा

भागरथी भट्ट हत्याको तत्काल अनुसन्धान गरी दोषीमाथि कारबाही गरियोस्ः देउवा


काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १७ वर्षीया किशोरी भागरथी भट्टको हत्याको तत्काल अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

सभापति देउवाले शनिबार बिहान सामाजिक सञ्जालमार्फत भट्टको हत्याको खवरले निकै मर्माहित भएको र भन्दै सो घटनाका विषयमा तत्काल अनुसन्धान गरेर दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेका हुन् ।

‘बैतडीको दोगडाकेदार गाउँपालिक–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्याको खवरले निकै मर्माहित भएको छु । उक्त घटनाका विषयमा तत्काल अनुसन्धान गरेर दोषीलाई कारबाही गर्न सरकारसँग जोडदार माग गर्दछु,’ देउवाले ट्वीटरमा लेखेका छन् ।

साथै उनले भट्टको आत्माको चिरशान्तिको कामना गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन् । कक्षा १२ मा अध्ययनरत उनी २१ गते दोगडाकेदार–३ स्थित सनातन धर्म मावि गएकी थिइन् । उनको शव २२ गते लवलेक जंगलमा बीभत्स अवस्थामा भेटिएको थियो ।

भट्टको बलात्कारपछि हत्या भएको आशंका आफन्त र स्थानीयले गरेका छन् । प्रहरीले घटना शंकास्पद भए पनि पोस्टमार्टम रिपोर्ट आउन बाँकी रहेको जनाएको छ ।