काठमाण्डु- प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन तोकिए कै समयमा हुने बताएका छन् । बुधबार अगामी बैशाख ३० मा हुन लागेको स्थानीय तहको चुनावमा सहभागी हुने वातावरण बनाइ दिन भन्दै प्रधानमन्त्री निवास बालुवाटार पुगेका नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवलाई चुनाव तोकिएकै समयमा हुने बताएका हुन् ।
स्रोतका अनुसार प्रधानमन्त्री देउवाले विप्लवलाई स्वतन्त्र ढंगले स्थानीय तहको निर्वाचनमा सहभागि हुन सुझाव दिएका छन् । बुधवार मन्त्रिपरिषद् बैठकमा पनि विप्लवको मागबारे छलफल भएको थियो ।
केपी शर्मा ओली सरकारसँग भएको तीन बुँदे सहमतिअनुसार राजनीतिक मुद्दा लागेका कार्यकर्तालाई प्रक्रिया पुर्याएर छाड्न सकिने भए पनि चुनाव सार्न भने नसकिने दउवाले विप्लवलाई जवाफ दिएका छन् ।
केहि दिन अगाडी काठमाण्डुमा आयोजित एक कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन तोकिएकाे समयमा हुन नसक्ने अभिव्यक्ति दिएका थिए ।
‘३० बैशाखमा चुनाव हुने भनेर निर्वाचन आयोगले हिजो आचारसंहिताको कुरा पनि अगाडी सारेको छ समस्या त छ,’ नेपालले अगाडि भने, ‘५ जेठमा पहिलो चुनाव भएको थियो, १५ असारमा अर्को चुनाव भएको थियो, ७ असोजमा अर्को चुनाव भएको थियो, असोजमा चुनाव भएकाहरुको अझै ५ वर्ष पुगेको छैन । भोली जे पनि हुन सक्छ ।’, माधव नेपालले भनेका थिए ।
त्यसैगरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि विप्लवको प्रस्तावमा स्थानीय तहको चुनाव सार्ने चलखेल भइरहेको बताएका थिए ।




प्रतिक्रिया