काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री देउवासहितको भ्रमण टोली शुक्रवार दिउँसो नयाँ दिल्ली प्रस्थान गरेका हुन् ।
प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल नेपाल वायुसेवा निगमको नियमित उडानबाट नयाँदिल्ली प्रस्थान गरेका हुन् । सोही एयरलाइन्सबाट चैत २० गते साँझ ६ः१० स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।
देउवाको बिदाइका लागि विमानस्थलमा सभामुख अग्निप्रसाद सापकोटा, गृहमन्त्री बालकृष्ण खाँण, प्रधानसेनापति प्रभुराम शर्मालगायतका उच्चपदस्थ अधिकारीहरू पुगेका थिए । प्रधानमन्त्री देउवाको भ्रमण टोलीमा परराष्ट्रमन्त्री नारायण खड्का, स्वास्थ्यमन्त्री विरोध खतिवडा, ऊर्जामन्त्री पम्फा भुसाल र कृषिमन्त्री महेन्द्र राय यादव पनि रहेका छन् ।
यस्ताे छ कार्यतालिका:
शुक्रबार दिउसो २ः५० बजे प्रधानमन्त्री देउवा भारतको नयाँदिल्लीस्थित इन्दीरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने छन्।
शुक्रबार दिउँसो ४ः३० बजे भारतीय विदेशमन्त्री एस. जयशंकरले होटल आइटीसीमा प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । लगत्तै उनी नयाँ दिल्लीस्थित सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)का नेताहरुलाई भेट्ने कार्यक्रम छ। उनी भाजपा मुख्यालयमा पनि पुग्ने छन्।
भाजपा मुख्यालय प्रधानमन्त्री देउवाको स्वागतका लागि सजाइएको छ। पार्टीका अध्यक्ष जगतप्रकाश नड्डाले देउवाको स्वागत गर्ने भाजपाका विदेश विभाग संयोजक विजय चौथाइवालेले जानकारी दिएका छन्। देउवा भाजपा मुख्यालयमा ५ः३० मा पुग्ने कार्यक्रम रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। त्यसपछि शुक्रबारको कार्यक्रम यही अन्त हुनेछ।
शनिबार स्थानीय समय अनुसार विहान १०ः४० बजे प्रधानमन्त्री देउवा राजघाट जानेछन् । त्यसपछि सोही दिन ११ः१० बजे हैदरावाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नेछन् ।
मोदीसँगको भेटवार्तापछि हैदरवाद हाउसमा नै दुई देशका प्रधानमन्त्रीको उपस्थितीमा नेपाल–भारत द्विपक्षीय बैठक बस्नेछ । बैठक सम्पन्न भएपछि मध्यान्ह १२ः१५ बजे दुई देशका अधिकारीबीच केही सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । त्यसपछि संयक्तु विज्ञप्ति जारी गरिनेछ ।
शनिबार नै दिउँसो ४ः३० बजे प्रधानमन्त्री देउवाले भारतका उपराष्ट्रपतिसँग शिष्टाचार भेट गर्नेछन् । प्रधानमन्त्री देउवा आइतबार विहान ९ बजे उत्तर प्रदेशको वाराणासी पुग्ने कार्यक्रम रहेको छ । वाराणासीबाट पुनः नयाँदिल्ली आई उनी त्यहाँबाट ४ः१५ बजे स्वदेश फर्कनेछन् ।




प्रतिक्रिया