काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक समाजवादी पार्टीलाई नागरिकता विधेयक अगाडि बढाउनेलगायत तीन विषयमा प्रतिवद्धता जनाएका छन् ।
भारत भ्रमणमा जानु अघि महन्थ ठाकुर नेतृत्वको लोसपाका शीर्ष नेतासँग वालुवाटारमा भेटघाट गरी प्रधानमन्त्री देउवाले तराई–मधेस आन्दोलनमा पक्राउ परेर जेल जीवन बिताइरहेका नेताहरुको मुद्दा फिर्तालगायतका विषयमा प्रतिवद्धता जनाएका हुन् ।
‘प्रधानमन्त्रीज्यूले लोसपाका नेताहरुसँग तीनवटा प्रतिवद्धता जनाउनु भएको छ,’ लोसपा कार्यकारिणी सदस्य केशव झाले भने, ‘पहिलो बजेट अधिवेशनमा नागरिकता विधेयक पेश गर्ने, दोस्रो मुद्दा फिर्ताका बारेमा जानकारी लिन महान्यायधिवक्तालाई निर्देशन दिनु भएको छ ।’
त्यस्तै स्थानीय तहमा चुनावी तालमेलका विषयमा भारत भ्रमणबाट फर्केपछि पाँच दलीय गठबन्धनमा छलफल गरेर आवश्यक निर्णय लिने तेस्रो प्रतिवद्धता जनाएको झाले जानकारी दिए ।
उनका अनुसार भारत भ्रमणबाट फर्के लगत्तै पुनः प्रधानमन्त्री र लोसपाका शीर्ष नेताहरु बसेर निष्कर्षमा पुग्नेछन् । त्यस्तै देउवाले लोसपालाई संघीय सरकारमा सहभागी गराउने तयारी गरेका छन् ।
भारत भ्रमणमा जानुअघि नै देउवाले लोसपालाई सरकारमा सहभागी गराउने तयारी गरेका थिए । प्रधानमन्त्री देउवा र लोसपाका अध्यक्ष महन्थ ठाकुरबीच सहमति भएपनि गठबन्धनमा भने अहिलेसम्म सहमति जुटेको छैन ।
प्रधानमन्त्री देउवा र लोसपा अध्यक्ष ठाकुरबीच सहमति भएको जानकारी पाएसंगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीलाई भेटेर विरोध जनाएका छन् ।




प्रतिक्रिया