आफ्नै गृहजिल्लामा तालमेल गराउन चुके देउवा, पौडेल र माधव नेपाल

आफ्नै गृहजिल्लामा तालमेल गराउन चुके देउवा, पौडेल र माधव नेपाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले १७ चैत ०७८ मा स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने प्रस्ताव गरे । देउवाको प्रस्तावमा सत्ता गठबन्धनका दलहरुले सहमति जनाए । त्यसका लागि गठबन्धन दलहरूले समिति नै बनाए ।

निर्वाचन तयारी तथा अनुगमन समिति नाम दिएको समिति संयोजक रामचन्द्र पौडेल हुन् । र, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि तालमेलको जोडबलकर्ता हुन् ।

तर, यी तीनै जना शीर्ष नेताको गृह जिल्लामै गठबन्धन भत्कियो । तालमेल भएन । कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टीले एक्लाएक्लै मनोनयन दर्ता गराए । देउवाको डडेल्धुरा, पौडेलको तनहुँ र नेपालको रौतहट गृह जिल्ला हो । तीन शीर्ष नेताको गृह जिल्लामा दलहरूबीच तालमेल नहुनुलाई कतिपयले अर्थपूर्ण रूपमा हेरेका छन् ।

गठबन्धनको अर्को दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृह जिल्ला चितवनमा भने तालमेल भएको छ । यद्यपि, त्यहाँ कांग्रेसबाट सहमतिविपरीत बागी उम्मेदवारी परेको छ ।

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवको गृह जिल्ला मोरङ र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको गृह जिल्ला बाग्लुङमा भने तालमेल भयो । सोही अनुसार मनोनयन दर्ता पनि भइसकेको छ । यसरी प्रचण्ड, यादव र केसीको गृह जिल्लामा तालमेल हुँदा देउवा, पौडेल र नेपालकोमा नभएको हो ।