बुढानीलकण्ठमा माधव नेपालसहितको बैठक : वैकल्पिक गठबन्धन बनाउने प्रयासमा देउवा

बुढानीलकण्ठमा माधव नेपालसहितको बैठक : वैकल्पिक गठबन्धन बनाउने प्रयासमा देउवा


काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वैकल्पिक गठबन्धन बनाउने प्रयास सुरु गरेका छन् । नीति तथा कार्यक्रम ल्याउन र संसद चल्न नदिने अडानमा रहेको कांग्रेसले विपक्षी गठबन्धनलाई बलियो बनाउन सक्रियता देखाएको हो ।

सोमबार सांझ देउवा निवास बुढानिलकण्ठमा कांग्रेस सभापति शेरबहादुर देउवासहित जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र लोसपाका नेता महन्थ ठाकुर र शरदसिंह भण्डारीसहितको बैठक बसेको हो ।

सोमबारको बैठकमा प्रदेश सरकारमा सहकार्य, बैकल्पिक गठबन्धन र सरकारको विकल्प खोज्नेबारे नेताहरुबीच छलफल भएको बुझिएको छ । जसपामा फुटसंगै नेता उपेन्द्र यादवले सरकार छोडिसकेका छन् । उनको पार्टीले सरकारलाई दिएको समर्थन समेत फिर्ता लगिसकेको छ ।

एकीकृत समाजवादीलाई पनि चांडै सरकारबाट हटाउने तयारी छ । समाजवादी फुटको संघारमा पुगेसंगै नेता नेपाल असन्तुष्ट बनेका छन् । प्रदेश सरकारमा आफ्नो पार्टीलाई एमाले माओवादी गठबन्धनले बेवास्ता गरेपछि उनि सरकार छोड्ने तयारीमा रहेको स्रोतको दावी छ ।

सुदुरपश्चिम प्रदेश सरकारमा एकीकृत समाजवादीका नेता दिर्घ सोडारीलाई एमालेले विश्वासको मत नदिएपछि नेपाल आक्रोसित छन् । उनले जेठ ३ गते विश्वासको मत लिने तयारी गरेका छन् । सोमबारको बैठकमा नेता नेपालले सुदुरपश्चिम प्रदेश सरकारमा कांग्रेसको समर्थन मागेका छन् ।

सोमबार नै जसपा नेपालका अध्यक्ष यादव लोसपा अध्यक्ष महन्थ ठाकुरलाई भेट्न उनको निवास पुगेका थिए । उनले मधेश सरकारलाई बचाउन सहयोगको लागि आग्रह गरेका थिए । मधेश प्रदेशमा जसपाका नेता सरोज कुमार यादव मुख्यमन्त्री छन् । माओवादी केन्द्र र एमालेले समर्थन फिर्ता लिएसंगै यादव नेतृत्वको सरकार अल्पमतमा परिसकेको छ ।

मधेश प्रदेशमा नयां जसपाले मुख्यमन्त्री पाउने सम्भावना छ । केन्द्रमा समेत उसले तीन मन्त्री र एक राज्यमन्त्री पाएको छ ।

कांग्रेसले सरकार विरोधी मोर्चालाई बलियो बनाउंदै लगेको छ । कांग्रेस र राप्रपा नेपाल अहिले एकै ठाउंमा छन् । त्यसका साथै जनमत पार्टी, रेशम चौधरी पक्षका दुई सांसद समेत कांग्रेसको समर्थनमा छन् । यादव, नेपाल र ठाकुर समेत यही गठबन्धनमा लाग्ने सम्भावना बढेर गएको छ ।

अहिले संसदमा कांग्रेसका ८८, राप्रपाको १४, जनमतको ६, लोसपाका ४, राष्ट्रिय जनमोर्चा र मजदूर किसान पार्टीका एक एक सांसद विपक्षमा छन् । यादव पक्षका जसपाका ५ र नेपालको समाजवादी मोर्चाको १० सिट यसमा थप भएको अवस्थामा समेत अर्को सरकार बन्ने सम्भावना कम छ ।