सुनसरी पुगेका देउवाले बाढीपीडित भेटेनन, हाइप्रोफाइल व्यक्ति र नेताहरु भेटेर फर्किए


काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवा हेलिकोप्टरबाटै बाढी प्रभावित क्षेत्र अनुगमन गरेर फर्किएका छन् ।

बेमौसमी वर्षाका कारण प्रदेश १ का विभिन्न जिल्लामा भएको क्षति अवलोकनका लागि निस्किएका प्रधानमन्त्री देउवा बाढीपहिरो पीडितलाई नभेटी हेलिकप्टरबाटै प्रभावित क्षेत्र हेरेर फर्किएका छन् ।

बाढीपहिरो पीडितलाई राहत तथा क्षतिपूर्तिको आश्वासनसहित अन्य मन्त्रीहरु पनि लिएर उनी आइतबार बिहान प्रदेश १ पुगेका थिए । बाढी पहिरोले प्रदेश १ मा गरेको क्षतिबारे प्रधानमन्त्री देउवाले ब्रिफिङ लिने कार्यक्रम सुनसरीको पकलीमा तय भएको थियो ।

सोहीअनुसार उनी सुरुमै त्यहीँ पुगेका थिए । तर त्यहाँ बाढीपीडित सर्वसाधारण थिएनन् । थिए त प्रदेश १ का हाइप्रोफाइल व्यक्ति र नेताहरु । पकलीमा सरकारी कर्मचारीहरूबाट बाढी, पहिरो र डुबान प्रभावित जिल्लाको ब्रिफिङ सुनेर उनी त्यहाँबाट हिडे ।

देउवाले पीडित परिवारका लागि छिट्टै राहात घोषणा गर्ने आश्वासन दिँदै हाईप्रोफाइल नेताहरुलाई मात्रै भेटेर हिँडेपछि बाढी पीडित निराश भएका छन् । प्रदेश १ का बाढी, पहिरो र डुबान प्रभावित जिल्लाको अवस्था बुझ्न उनी आइतवारै मोरङ, इलाम र पाँचथर जाने कार्यक्रम छ ।

प्रधानमन्त्री देउवाको चारै जिल्लामा प्रभावित क्षेत्रको अवलोकन गर्ने कार्यक्रम छ । तर, अन्य जिल्लामा पनि सुनसरी जस्तै ब्रिफिङ लिने कार्यक्रम मात्रै राखिएको सुरक्षा अधिकारीहरुले बताएका छन् ।

डुबान प्रभावित जिल्लाको अवस्था बुझ्न प्रधानमन्त्री देउवासँगै ऊर्जामन्त्री पम्फा भुसाल, कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र स्वास्थ्य राज्यमन्त्री भवानी खापुङ प्रदेश १ पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement