काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफुलाई प्रधानमन्त्री हुने चाहना नभएको बताएका छन् ।
शनिबार बूढानीलकण्ठस्थित आफ्नै निवासमा नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरद्वारा लिखित ‘महाकाण्ड’ पुस्तकको विमोचन कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति देउवाले आफूलाई पदको लोभ तथा लालच नभएको भन्दै प्रधानमन्त्री हुने चाहना नभएको बताएका हुन् ।
उनले नेकपाको आफ्नै झगडा चलिरहेकाले आफू त्यसमा नफस्ने बताए । ‘ म प्रधानमन्त्रीको रेसमा छैन । विपक्षी दलको नेता प्राइममिनिस्टर इन वेटिङमा भनेको छ । तर मलाई प्रधानमन्त्री हुने चाहाना पनि छैन,’ उनले भने, ‘यी सबै कुरामा नलाग्नु होला । उनीहरुको झगडामा म फस्न चाहान्न ।’
उनले कांग्रेसले प्रतिनिधिसभामा प्रधानमन्त्रीविरुद्ध दर्ता गरिने अविश्वास प्रस्तावको पक्षमा उभिने–नउभिने भन्ने विषयमा तत्काल निर्णय नगर्ने बताए ।
‘नेकपामा ओली र प्रचण्ड–नेपाल समूह आइतबारबाट हुने प्रतिनिधिसभा बैठकमा कसरी प्रस्तुत हुन्छन्, त्यहीअनुसार रणनीति तय गर्ने कांग्रेसको योजना छ,’ देउवाले भने, ‘व्यावहारिक रूपमा नेकपा दुई समूहमा विभाजित भए पनि पार्टी विभाजन औपचारिक रूपमा नभएकाले कांग्रेसले ‘पर्ख र हेर’ को रणनीति अपनाएको हो ।’
नेकपाका दुवै समूहले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न आग्रह गरे पनि कांग्रेसका अधिकांश सांसदले अहिले सरकारमा जान नहुने बताएका छन् ।




प्रतिक्रिया