काठमाण्डु – नेपाली कांग्रेस नयाँ नेतत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत २७ गते सकिएको निर्वाचनमा खुलातर्फ केन्द्रीय सदस्यको मतगणना आज पनि जारी छ ।
प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवाले २७३३ मत पाएर कांग्रेस सभापतिमा विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी पार्टीका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कोइरालाले १८५५ मत पाएर पराजित भएका थिए ।
सभापतिमा देउवासहित पाँच जनाले उम्मेद्वारी दिएका थिए । पहिलो चरणको निर्वाचनमा सभापति पदका प्रत्यासीमध्ये कसैले पनि ५० प्रतिशत कटाउन नसकेपछि विधानअनुसार पुन: मतदान भएको थियो ।
सभापति, २ महामन्त्री, २ उपसभापति, ८ सहमहामन्त्रीसहित १३ सदस्यीय पदाधिकारी निर्वाचित भइसकेका छन् । जसमा सभापति शेरबहादुर प्यानलबाट ८ जना पदाधिकारी निर्वाचित भएका छन् भने पाँच जना अन्य प्यानलबाट निर्वाचित भएका छन् । अब देउवाले आगामी पाँच वर्षसम्म पार्टी हाँक्ने छन् ।
१४ औं महाधिवेशनबाट देउवा प्यानलबाट निर्वाचित ८ मध्ये शीर्ष पाँचमा परेका पदाधिकारी फरक फरक प्रदेशबाट आएका छन् । सभापति देउवा सुदूरपश्चिम प्रदेश, उपसभापति पूर्णबहादुर खड्का कर्णाली प्रदेश, अर्का उपसभापति धनराज गुरुङ गण्डकी प्रदेशका हुन् । त्यस्तै महामन्त्री गगनकुमार थापा बागमती प्रदेश र विश्वप्रकाश शर्मा प्रदेश १ का हुन् ।
उनीहरु पदाधिकारीको शीर्ष पाँचमा अटाउन सफल भए भने प्रदेश २ र लुम्बिनी प्रदेश शीर्ष पाँचमा अटाउन सकेनन् ।पदाधिकारीमा शीर्ष पाँचमा अटाउन नसकेको प्रदेश २ र लुम्बिनीले सहमहामन्त्री पाएको छ । खसआर्य समूहबाट बर्दियाका किशोरसिंह राठौर सहमहामन्त्रीमा विजयी भएका छन् ।
उनी देउवा समूहबाट उम्मेदवार बनेका थिए । त्यस्तै प्रदेश २ ले पदाधिकारीको शीर्ष पदमा ठाउँ नपाए पनि ३ जना सहमहामन्त्री पाएको छ । धनुषाका महेन्द्र यादव मधेशीतर्फ, बाराका फर्मुल्ला मन्सुर मुस्लिम र बाराकै उमाकान्त चौधरी थारुतर्फको सहमहामन्त्री बनेका छन् । शीर्ष पद पाएका कर्णालीबाहेक अरु ४ प्रदेशले एक–एक जना सहमहामन्त्री पाएका छन् ।
आदिवासीतर्फका सहमहामन्त्री भीष्मराज आङ्देम्बे प्रदेश १ का हुन् । महिला सहमहामन्त्री डिना उपाध्याय बागमती प्रदेशकी हुन् भने दलिततर्फका सहमहामन्त्री जीवन परियार गण्डकी प्रदेशका हुन् । पिछडिएको क्षेत्रबाट सहमहामन्त्री बनेका बद्री पाण्डे सुदूरपश्चिम प्रदेशका हुन् ।




प्रतिक्रिया