काठमाण्डु – संसदमा देखिएको अवरोध अन्त्य गर्ने र प्रधानन्यायाधीश नियुक्तिका लागि संवैधानिक परिषद्को बैठक बोलाउने विषयमा प्रमुख तीन दलका शीर्ष नेताबीच सहमति भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि चाँडै संवैधानिक परिषद् बैठक बोलाउने सहमति भएको हाे ।
आइतबार तीन दलका शीर्ष नेताबीच बालुवाटारमा छलफल भएको थियो। प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पदावधि साउन २० गते सकिँदैछ । प्रधानन्यायाधीशको कार्यकाल सकिनु एक महिनाअघि नै नयाँ प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था छ।
छलफलका क्रममा संवैधानिक परिषद्को बैठक राखेर प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने र संसदलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ। साथै सुन प्रकरणलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)ले सङ्घीय संसदको दुवै सदनको बैठक अवरोध गर्दै आएको छ । सो विषयमा समेत उनीहरुबीच सकारात्मक छलफल भएको बताइएको छ ।




प्रतिक्रिया