एमसीसी र स्थानिय निर्वाचनबारे देउवा-प्रचण्डबीच छलफल

एमसीसी र स्थानिय निर्वाचनबारे देउवा-प्रचण्डबीच छलफल


काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । एमसीसी पारित गर्ने विषय पेचिलो बनिरहेका बेला सत्ता गठबन्धनका दुई प्रमुख नेता प्रधानमन्त्री देउवा र प्रचण्डबीच आज बिहान भेटवार्ता भएको हो ।

दुई नेताबीचको वार्ताको विस्तृत विवरण दुवै पक्षले दिएका छैनन् । भेटमा संसदको गतिरोध अन्त्य, एमसिसी, स्थानीय तहको निर्वाचनलगायतका विषयमा छलफल भएको बताइएको छ । अग्निप्रसाद सापकोटालाई सभामुखबाट हटाए एमसीसी पारित गर्न प्रमुख प्रतिपक्षी दल एमाले सहमत रहेको भन्दै समाचार आएपछि प्रचण्ड देउवा भेट्न सोमबार बालुवाटार पुगेका हुन् ।

सो क्रममा प्रचण्डले एमसीसीका केही बुँदा संशोधन गर्नुपर्ने प्रस्ताव गरेका छन् । ‘प्रधानमन्त्रीसँगको भेटमा प्रचण्डले एमसीसीका केही बुँदा संशोधन गरेर पारित गर्नुपर्ने प्रस्ताव गरेका छन्,’ बालुवाटार स्रोतले भन्यो ।

एमसीसी पारितका लागि सदनमा दर्ता भइसकेको छ । तर, हालसम्म टेबुल गरिएको छैन । अब बस्ने बैठकमा एमसीसीलाई टेबुल गर्ने बताइएका बेला नेताहरू छलफलमा जुटेका हुन् । गठबन्धन दलकै शीर्षनेताहरूबीच एमसीसीबारे फरक फरक धारणा सार्वजनिक हुँदै आएको छ ।

सत्ता गठबन्धनलाई एमसीसीको कारण कुनै खतरा नरहेको दुवै पक्षले बताएका छन् । यसअघि प्रधानमन्त्री देउवा, प्रचण्ड, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलबीच एमसीसी पारित गर्ने सहमति भइसकेको छ । तर, त्यसका लागि प्रचण्ड र माधव नेपालले १० दिनको समय मागेको पौडेलनिकट स्रोतले जनाएको छ ।

गठबन्धनमा स्थानीय तहको चुनाव जेठमा गर्ने सहमति भएसँगै राजनीतिक वृतमा चर्चामा रहेको एमसीसीको विवाद बल्झेको छ ।