बालुवाटारमा देउवा र प्रचण्डबीच छलफल जारी


काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।सत्ता गबठन्धनबीच एमसीसी अनुमोदन गर्ने विषयमा विवाद बढिरहेका बेला दुई शीर्ष नेताबीच छलफल भएको हो ।

उनीहरुबीच एमसीसी र स्थानीय निर्वाचनको बारेमा छलफल भइरहेको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले बताए । अहिले प्रधानमन्त्री निवास बालुटारमा प्रचण्ड र देउवाबीच भइरहेको छलफलमा गृहमन्त्री बालकृष्ण खाँण पनि सहभागी छन् ।

त्यसअघि गृहमन्त्री खाँणले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेका थिए । खाँणले बुधबार बिहान अध्यक्ष नेपालको निवास कोटेश्वरमै भेटेका हुन् ।

निर्वाचन आयोगले सरकारलाई आगामी ४ जेठमा स्थानीय तहको निर्वाचन मिति सिफारिस गरेकोप्रति माधवकुमार नेपाल सन्तुष्ट छैनन् । उनको चाहना भने आगामी चैतमा स्थानीय तहको निर्वाचन गर्नु पर्ने भन्ने छ । यसैकारण गृहमन्त्री खाँणले निर्वाचन मिति तोक्नुअघि नेता नेपालसँग राय सल्लाह लिएको स्रोतको दाबी छ ।

पछिल्लो समय प्रधानमन्त्री देउवा जसरी पनि एमसीसी संसदमा अनुमोदन गर्ने पक्षमा छन् भने नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एमसीसी संशोधन नगरी कार्यान्वयन गर्न नसकिने अडानमा देखिएको छ । माओवादी र समाजवादी सकारात्कम नभए देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग सहकार्य गर्ने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement