सरकार सत्ताको द्वन्द्वमा जकडियो, कांग्रेसले तिव्र दबाब दिन्छः सभापति देउवा

सरकार सत्ताको द्वन्द्वमा जकडियो, कांग्रेसले तिव्र दबाब दिन्छः सभापति देउवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले जिम्मेवार भूमिका निभाउँदै आएको सरकारले कमजोरीका रुपमा बुझेको बताएका छन् ।

आइतबार एक अपिल जारी गर्दै सभापति देउवाले सरकारले भ्रष्टाचार र कुशासनमा आफूलाई केन्द्रीत गरेकाले जनतामा वितृष्ण फैलिएको बताएका हुन् ।

‘प्रतिपक्षका रूपमा नेपाली काँग्रेसले निरन्तर सालिन, संवाद मैत्री र जिम्मेवार भूमिका निभाउँदै आयो, तर वर्तमान सरकारले एकातर्फ त्यसलाई कमजोरीका रूपमा बुझ्ने धृष्टता गर्‍यो भने अर्कातर्फ भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफुलाई केन्द्रित गर्दै लग्यो । यस्तो प्रवृत्तिको परिणाममा नेपाली जनतामा सरकारप्रति व्यापक वितृष्णा फैलिएको छ’, उनले भनेका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले कांग्रेसले सडकदेखि संसदसम्म सरकारलाई तिब्र दबाब दिनु र जनताको वितृष्णालाई सम्बोधन गर्न भोलिको सांकेतिक प्रदर्शन भएको बताएका छन् ।

उनले भनेका छन्, ‘सरकारप्रतिको वितृष्णा मुलतः अहिलेको अवस्थाप्रतिको वितृष्णा हो । नेपाली जनताले लामो संघर्षबाट स्थापित गरेको संघीय, लोकतान्त्रिक गणतन्त्र मार्फत सार्थक परिणामको अपेक्षा जनताले राख्नु जनताको स्वभाविक हक हो । अतः नेपाली कांग्रेसले सडक देखि संसदसम्म अब सरकारलाई तिब्र दबाब दिनु छ र जनताको वितृष्णालाई सम्बोधन गर्न संयम तर शसक्त ढंगले अघि बढ्नुछ । त्यसकै शुरूवात हो भोलिको सांकेतिक प्रदर्शन ।’

उनले जनता कोरोना संक्रमणबाट मरिरहेका बेला सरकार भ्रष्टाचारमा लिप्त भएको, शक्ति प्रधानमन्त्री कार्यालयमा केन्द्रित गरी विधेयकमार्फत अधिनायकवादी तरिकाले अगाडि बढेको, महिला हिंसा र बलात्कारका घटना रोक्न नसकेको आरोप लगाएका छन् ।

सभापति देउवाले तनहुँको पछिल्लो घटनादेखि देशका कयौँ भागमा भएका उत्पीडन, दमन र विभेदका घटना हरेक नेपाली गम्भीर हुन जरुरी रहेको बताएका छन् ।

उनले कोरोनाबाट जनाताको रक्षा गर्न सरकारको स्पष्ट दृष्टिकोण नहुँदै सयौँले ज्यान गुमाउनु परेको र मुलुकको चौतर्फी संकट निकासका लागि लाग्नु पर्ने सरकार सत्ताको द्वन्द्वमा जकडिएका कारण जनतामा आक्रोश बढेको बताए ।

‘कोरोनाबाट जनताको रक्षा गर्ने गम्भीर दृष्टि र सुविचारित कार्ययोजना नहुँदा सयौंको मृत्यु भएको छ भने हरेक नेपालीले मृत्युको सन्त्रास भोग्नु परेको छ । कोरोनाकालिन नीति, दृष्टिकोण र ठोस कार्यक्रम नहुँदा मुलुकको अर्थतन्त्र झनै कमजोर बन्न पुगेको छ’, उनले भनेका छन्, ‘चौतर्फी संकटबाट मुलुकलाई निकासको मार्गमा लग्न गम्भीर भएर कार्य गर्नुपर्ने सरकार सत्ताको द्वन्द्वमा जकडिएको छ । यस्तो परिदृश्यमा जनतामा प्रश्न, आक्रोश र वितृष्णा बढ्नु विल्कुलै स्वभाविक छ ।’