काठमाण्डु – नेकपा माओवादी केन्द्रका नेता देव गुरुङ चीन भ्रमणमा जांदैछन् । हिमालयन एयरलाइन्सको कार्गो विमानबाट नेता गुरुङ शुक्रबार चीन जान लागेका हुन् । उनिसंगै माओवादी नेता वर्षमान पुन र उनकी पत्नी ओनसरी घर्ती समेत चीन जान लागेकी छन् ।
नेता गुरुङ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको दूत भएर चीन जान लागेको स्रोत बताउंछ । गुरुङ चिनियां कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीनको कुनमिङ जान लागेको खुल्न आएको हो ।
यसअघि एमाले उपाध्यक्ष विष्णु पौडेलसहित एमाले नेताहरु समेत कुनमिङ गएका थिए ।
चीनको कुन्मिङमा हुन लागेको ‘Economic Cooperation & Cultural Exchange’ कार्यक्रममा सहभागी हुन पौडेल सहित एमाले नेताहरु कांशिनाथ अधिकारी,मीनासिंह रखाल र पुष्प कंडेल समेत कुन्मिङ उडेका थिए । उक्त कार्यक्रममा चिनियां कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओ समेत सहभागी भएका थिए ।
चिनियां विदेशमन्त्री वाङ यी आज नेपाल भ्रमणमा आउंदैछन् । यही बेला दुवै कम्युनिष्ट पार्टीका नेताहरुको चीन भ्रमणलाई अर्थपूर्थ रुपमा लिइएको छ ।
नेकपा बन्दा चीनले समेत मध्यस्थता गरेको समाचारहरु सार्वजनिक भएको थियो । पछिल्लो समय माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले समेत एमालेसंग समेत चुनावमा गठबन्धन हुन सक्ने बताइरहेका छन् ।
गुरुङ अमेरिकी सहयोग परियोजना संसदबाट पारित गर्न नहुने पक्षमा समेत थिए । एमाले र माओवादी केन्द्रका प्रभावशाली नेताहरुको चीन भ्रमणलाई विश्लेषकहरुले चीनले दुवै दलको एकताका लागी फेरी पहल गर्न लागेको अर्थमा लिएका छन् ।




प्रतिक्रिया