काठमाण्डु – नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले माओवादी द्वन्द्वकालीन घटनामा अन्तर्राष्ट्रिय फौजदारी अदालत आकर्षित हुन नसक्ने बताएका छन् ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले द्वन्द्वकालीन विषय राष्ट्रिय मुद्दा रहेको र यसलाई राष्ट्रिय स्तरमै समाधान खोज्नुपर्ने बताएका हुन् । तर, राष्ट्रियस्तरमा समाधान गरिनुपर्ने द्वन्द्वकालीन मुद्दालाई केही संस्थाले डलरको खेती गरेर नेपालीबीच फाटो ल्याउने काम गरेको उनको भनाइ छ ।
‘नेपालले रोम विधानको सदस्यता लिएको छैन । यस कारण द्वन्द्वकालीन मुद्दामा अन्तर्राष्ट्रिय फौजदारी अदालत आकर्षित हुँदैन,’ गुरुङले भने ।
नेता गुरुङले पश्चिमा डलरमा चलेका कतिपय मानवअधिकार नामका संस्थाहरुले नेपालीहरुबीच फाटो ल्याउने काम गरिरहेको आरोप लगाए ।
‘यो राष्ट्रिय मुद्दा हो । राष्ट्रिय रुपमा व्यवस्थापन गरिनुपर्छ । राष्ट्रिय मुद्दा हुँदा हुँदै पनि कतिपय पश्चिमा डलरमा चलेका कतिपय मानवअधिकार नामका संस्थाहरुले जुन ढंगले खेती गरिरहेको छ, नेपालीहरुबीच मिल्न नदिने र द्वन्द्व व्यवस्थापन गर्न नदिने, दलहरुबीच मिल्न नदिने र देश सहज रुपमा अगाडि बढ्न नदिने प्रवृत्ति देशको स्वाधिनताको आत्मघाती कार्य हो । यो रोकिनुपर्छ ।’
द्वन्द्वकालीन घटना उचालेर नेताहरुको विदेश भ्रमणसमेत प्रभावित पार्न खोजेको भन्दै उनले आपत्ति जनाए ।




प्रतिक्रिया