विदेशी सेना प्रवेश गराउन ओलीले संसद् भंग गराएः नेता गुरुङ

विदेशी सेना प्रवेश गराउन ओलीले संसद् भंग गराएः नेता गुरुङ


काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड–माधव नेपाल समूहका नेता देव गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भंग गरेर विदेशी सेना प्रवेश गर्ने बाटो खुलेको बताएका छन् ।

पोखरामा आयोजित पत्रकार सम्मेलनमा नेता गुरुङले चीनलाई घेराबन्दी गर्न संसद भंग गरेर नेपाललाई शैन्य आधार क्षेत्र बनाउने रणनीतिसँग अन्तरनिहित रहेको बताएका छन् ।

‘मुलुक फाँसीवादको दिशातर्फ जाँदै छ । संसद् विघटन प्रधानमन्त्रीको सर्वसत्तावादी, एकाधिकारवादी, निरकुंशतावादी, फाँसीवादी चिन्तनको उपज हो । भूराजनीतिक परिवेशमा विदेशी शक्तिकेन्द्रको टकरावले नेपाललाई फौजी प्लेग्राउन्ड बनाउने, विशेषगरी चीनको विरोधमा परिलक्षित गर्ने, चीनलाई घेराबन्दी गर्ने, तिब्बतलाई टुक्रयाउने र त्यसको लागि नेपाललाई शैन्य आधार क्षेत्र बनाउने रणनीतिसँग अन्तरनिहित छ’, उनले भने ।

नेता गुरुङले संसद् रहँदासम्म विदेशी सेनाले मार्चपास गर्न नसक्ने बताएका छन् । उनले संविधान भत्काउन ढिलो चाँडो संकटकाल घोषणा हुने दाबी गरेका छन् ।

‘विदेशी सेना प्रवेश गराउन ओलीले संसद् भंग गराए । साम्राज्यवादी शक्तिको डिजाइनअनुसार संसद् भत्काउने र सैन्य हस्तक्षेप गराउन ग्राउन्ड तयार गर्ने काम उहाँले गर्नुभयो । नेपालमा सैन्य आधार क्षेत्र बनाउन बाधा पुर्याउने देशभक्त गणतन्त्रवादी कम्युनिस्ट पार्टी भत्काउन जरुरी थियो । त्यसैकारण पार्टी विघटन र विसर्जनको दिशातिर पुग्यो’, उनले भने ।

उनले संसद भंगको निर्णय तत्काल खारेज गर्नुपर्ने बताएका छन् । नेता गुरुङले मुलुक संविधानविहीन, व्यवस्थाविहीन भए राष्ट्रपतिको शासन चलाउने प्रक्रियामा जाने दाबी गरे ।

त्यस्तै उनले चीनसँग कुनै मुद्दामा विवाद पनि नभएको बताए । नेपालको राष्ट्रिय स्वाधिनतामाथि कुनै पनि प्रकारको हस्तक्षेप नभएको उनको भनाई छ ।

‘ऐतिहासिक रुपमा चिनियाँ कम्युनिस्ट पार्टीको परामर्श, सदाशयता आदिको बारेमा प्रश्न उठाउनुको कुनै औचित्य छैन । नेपालको स्वाधिनताको सम्बन्धमा साम्राज्यवादी र विस्तारवादी हस्तक्षेप समस्याको विषय हो, चीन होइन’, उनले भने ।