सभामुखका दाबेदार देव गुरुङले गरे यस्तो खुलासा

सभामुखका दाबेदार देव गुरुङले गरे यस्तो खुलासा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् प्रमुख सचेतक देव गुरुङले तत्काल सभामुख चयन हुने अवस्था नरहेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता गुरुङले एउटै दलको सभामुख र उपसभामुख हुन नपाउने भन्दै सर्वाेच्च अदालतमा दायर गरिएको मुद्दा विचाराधीन रहेकाले सभामुखको निर्वाचनबारे टीकाटिप्पणी गरिरहन नमिल्ने बताए ।

बलात्कारको आरोप लागेपछि कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिएका छन् । सोही पदका लागि निर्वाचन गर्न सर्वोच्च अदालतमा विचाराधीन मुद्दाले असहज बनाएको प्रमुख सचेतक गुरुङले जानकारी दिए । सभामुखको निर्वाचन हुनका लागि उपसभामुखले राजीनामा दिनुपर्ने अवस्था रहेको पनि सुनाए ।

सभामुख र उपसभामुख दुवै पद खाली भए दलहरुबीच सहमतिको आधारमा उम्मेद्वार तय गरेर निर्वाचन गर्न सकिने प्रमुख सचेतक गुरुङले औंल्याएका छन् । ‘संविधानले सभामुख र उपसभामुख दुई पद फरक–फरक दलको हुनुपर्ने व्यवस्था गरेको छ,’ उनले भने, ‘यस्तो अवस्थामा दुवै पद खाली नभई सभामुखको निर्वाचन गर्न मिल्दैन ।’

प्रमुख सचेतक गुरुङले सभामुखको निर्वाचन गर्ने अवस्था नै नभएका बेला त्यसमा व्यक्तिले दावी गर्नुको कुनै औचित्य नरहेको पनि बताएका छन् । अहिले सभामुख पदलाई लिएर राजनीतिक दलहरुमा भित्रभित्रै तयारी भइरहेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुख आफ्नोबाट हुने पर्ने बताउँदै आएको छ भने सत्तारुढ दल नेकपाले सभामुख पद कसैलाई दिन नसकिने स्पष्ट पारिसकेको छ ।