काठमाण्डु – भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बाढीले क्षतिग्रस्त बनाएका सडक, पुल लगायतका संरचनाहरूको पुनर्निर्माणको प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन् ।
क्षति भएका स्थानमा तत्काल अध्ययन गरी अल्पकालीन र दीर्घकालीन योजना तयार गर्न सडक विभागलाई निर्देशन दिए ।
भोटेकोशी नदीले पुर्याएको क्षतिको अध्ययन गरी यातायात सहज बनाउनेतर्फ लाग्न समेत उनको निर्देशन छ । अझै मनसुन जारी रहनेतर्फ ध्यान दिँदै संरचनाहरूको सुरक्षा र क्षति भएका संरचनाको अस्थायी र स्थायी पुनर्निर्माणको योजना बनाउन उनले निर्देशन दिए ।
नेपाल–चीन जोड्ने सडक तथा मितेरी पुलमा भएको क्षतिको अध्ययन गरि जनजीवन र यातायात सहज बनाउनेतर्फ जनशक्ति र स्रोतसाधन परिचालन गर्न उनले निर्देशन दिए ।
बाढीपहिरो जस्ता प्राकृतिक प्रकोपका कारण थप हुन सक्ने क्षतिलाई मध्यनजर गरेर वर्षायाम भरी सुरक्षित यातायात र सडक सञ्चालनको व्यवस्थाका लागि सम्वद्ध निकायहरूसँग समन्वय थप बलियो बनाउन मन्त्री दाहालले निर्देशन दिए ।
सडकबाहेक अन्य सडकहरूतर्फ समेत ध्यान दिइसकेसम्म यातायात अवरुद्ध हुन नदिने गरी जनशक्ति, औजार, उपकरण तथा जनशक्ति परिचालन गर्न उनको निर्देशन छ ।
सडक विभागका महानिर्देशक डा. विजयकुमार जैसीका अनुसार रसुवागढी क्षेत्रमा बाढीले पुर्याएको क्षतिको अध्ययन र गर्नुपर्ने कार्यका लागि विभागको टोली परिचालन भइसकेको छ ।
गल्छी–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक आयोजनाबाट क्षतिग्रस्त क्षेत्रमा प्राविधिक जनशक्ति परिचालन भएको छ ।




प्रतिक्रिया