नवलपरासी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सुनवल नगर अधिवेशनमा कांग्रेस केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलले निर्वाचनस्थलमै भाँडभैलो मच्चाएपछि मतदान रोकिएको छ ।
निर्वाचन समितिका अनुसार मतदानको तयारी भइरहेका बेला कँडेलले नेता भरत थापाको हातबाट उम्मेदवारको नामावली खोसेर च्यातेका थिए । त्यसपछि माइक खोसेर ‘यो चुनाव हुँदैन’ भन्दै नामावली च्यातेर फालेका थिए ।
कँडेलले निर्वाचनसम्बन्धी कागजपत्र र फाइलसमेत च्यातेपछि दुई पक्षबीच विवाद चर्किएको समितिले जनाएको छ । स्थिति थप तनावपूर्ण बन्न सक्ने देखिएपछि निर्वाचन समितिले सुक्षाको कारण देखाउँदै मतदान स्थगित गरेको हो ।
विवादपछि प्रहरीले कँडेललाई सुरक्षा दिँदै सुनवल चौराहसम्म पुर्याएको थियो ।
मतदानका लागि ३ सय ५६ मतदाताको अन्तिम सूची सार्वजनिक गरिएको थियो । नगर समिति सदस्य पदमा आवश्यक संख्याअनुसार मात्रै उम्मेदवारी परेकाले ती पदमा निर्विरोध चयन भइसकेको थियो । बाँकी पाँच पदाधिकारीका लागि मात्रै मतदान हुन बाँकी थियो ।
बिहीबार साँझ साढे ६ बजे मतदान गर्ने तयारी थियो । मतदानको समय नजिकिँदै गर्दा कँडेल पक्षले निर्वाचन शुक्रबार सार्नुपर्ने अडान लिएपछि विवाद बढेको हो । अर्को पक्षले भने मतदाता निर्वाचनस्थलमा उपस्थित भइसकेकाले तोकिएकै समयमा मतदान गर्नुपर्ने अडान राखेको थियो ।
नेतृत्व चयनका लागि दुई दिनसम्म सहमतिको प्रयास भए पनि सहमति नजुटेपछि दुवै पक्ष प्यानलसहित चुनावी मैदानमा उत्रिएका थिए ।
सुनवल नगर सभापतिमा यमलाल पाण्डे र यज्ञप्रसाद पाण्डे प्रतिस्पर्धामा उत्रिएका थिए । यज्ञप्रसादलाई कँडेलको समर्थन थियो ।
यसैबीच निर्वाचन अधिकृत दीपक अर्यालले दुई पक्षबीच समन्वय र छलफल गरेपछि स्थगित मतदान प्रक्रिया अघि बढाइने बताएका छन् ।
नवलपरासीका सात स्थानीय तहमध्ये सुनवलबाहेकका पालिकामा कांग्रेसको गाउँ तथा नगर अधिवेशन सम्पन्न भइसकेको छ । प्रतापपुर र पाल्हीनन्दनमा निर्वाचनबाट सभापति चयन भएका छन् भने रामग्राम, बर्दघाट, सुस्ता र सरावलमा नेतृत्व सर्वसम्मत चयन भएको छ ।




प्रतिक्रिया