एमाले-माओवादीबीच एकता हुनुपर्छ : देवेन्द्र पौडेल (अन्तर्वार्ता)


काठमाण्डु- उपनिर्वाचन सकिएसँगै फेरि वाम एकताको बहस हुन थालेको छ । बैशाख १५ गते भएको उपनिर्वाचनमा इलाम–२ मा नेकपा माओवादी केन्द्रले एमाले उम्मेदवारलाई साथ दिएको थियो ।

इलाम-२ मा माओवादीको साथ पाएका एमाले उम्मेदवार सुहाङ नेम्वाङ विजयी भए । नेकपा एमाले र माओवादी केन्द्रबीच पछिल्लो समय भएको समीकरणले वाम एकताको आधार तय गरेको माओवादी नेताहरूले बताउँदै आएका छन् ।

विगतको अभ्यासबाट पाठ सिकेर नयाँ राजनीतिक ‘कोर्स करेक्सन’ गर्नुपर्नेमा माओवादी नेताहरूले जोड छ । वैशाख १५ गते भएको उपनिर्वाचनको सन्देशले पनि वामपन्थी शक्तिबीच एकता र सहकार्यलाई जोड दिएको माओवादीभित्र चर्चा चलिरहेको छ । तर नेकपा एमालेका नेताहरू भने माओवादीसँग पार्टी एकता नहुने बताउँदै आएका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादीसँग पार्टी एकता गरे पहिला किन फुटेको भन्ने प्रश्न उठ्ने भन्दै आफू एकताको पक्षमा नरहेको स्पष्ट पारेका छन् ।

नेपाली कांग्रेस र नेकपा एमालेको समर्थनमा सत्ता समीकरणमा ३ पटक उथलपुथल गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान समीकरणलाई नै निरन्तरता देलान् भन्नेमा सत्ता घटक नेताहरू नै विश्वस्त छैनन् ।

त्यसमा पनि सत्ता गठबन्धनमा आवद्ध एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कति बेला गठबन्धनको साथ छोड्लान् भन्नेबारे कुनै ठेगान छैन । प्रस्तुत छ यिनै विषयमा केन्द्रित रहेर नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलसँग काठमाण्डुपाटी डट्कमका लागि टक खातीले गरेको कुराकानी :

इलाम-२ मा माओवादी केन्द्रले आफ्नै उम्मेदवार नउठाई एमालेलाई साथ दियो । एमालेका उम्मेदवारले चुनाव पनि जित्नुभयो । आगामी निर्वाचनमा एमाले र माओवादी मिले बहुमत आउने विश्लेषण पनि भइरहेको छ । पछिल्लो समय भएको एमाले-माओवादी समीकरणले वाम एकताको आधार तय गरेकै हो ?

– पक्कै विगतमा नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएको थियो । त्यस एकताले नेपालका वामपन्थी शक्तिलाई एक ठाउँमा ल्याउने लक्ष्य ल्याएको थियो । तर, विभिन्न किसिमका गल्ती र कमजोरीले टुटफुट भयो ।

अब पहिला भएका कमी–कमजोरीको समीक्षा गर्दै वामपन्थी शक्ति एकै ठाउँमा आउने लक्ष्यसहित इलाम-२ मा मिलेर जाने सहमति भयो र परिणाम राम्रै प्राप्त भएको छ । यो परिणाम हेर्दाखेरी र जनताका कुरा सुन्दा वामपन्थी शक्ति एक ठाउँमा उभियौं भने बहुमत आउने छ । त्यसकारण मिलेर जानुपर्छ ।

तत्काल माओवादी–एमाले मिल्ने सम्भावना कति छ ?

– तत्कालै त हामीले पार्टी एकता भनेका छैनौं । तर सहकार्य गर्दै जाने र सहकार्य गर्दै जाँदाखेरी नेकपा एमाले र माओवादी केन्द्र मात्र होइन, नेपालका वामपन्थी शक्तिहरू जो–जो छन्, उनीहरूलाई सम्भव भएसम्म एकीकरण गर्ने ।

यदि भएन भने सहकार्य नै गरेर सुशासनको बाटोमा जानका लागि वामपन्थी शक्ति एकै ठाउँमा जाने भन्नेमा हामी छौं । त्यसका लागि सके पार्टी एकता, नभए मार्चाको रूपमा हामी अगाडि बढ्नुपर्छ ।

कहिले यता, कहिले उता मोडिने अस्थिर स्वभावका प्रचण्डलाई एमालेले पत्याउला र ? प्रचण्डलाई एमालेले पत्याउने आधार के-के हुन् ?

– अब जो पनि जता पनि दौडिरहेका छन् नि ! कहिले यता कहिले उताको प्रसङ्ग नै भएन ।

प्रचण्ड चाहिँ पछिल्लो २ दशकमा विभिन्न पार्टीसँग सहकार्य गर्न पनि सक्ने अनि पूर्वाग्रह पनि नराख्ने नेताको रूपमा भएको हुँदाखेरी एकता, संवाद, छलफल, सहकार्य फेरि विभाजनमा नेपालको राजनीतिक गुजरेको छ ।

त्यसो भएको हुनाले एकदमै गम्भीर छलफलसहित भएको हुँदाखेरी एमालेले विश्वास गरेर नै यो पछिल्लो अध्यायको सुरुवात भएको हो ।

तपाईंहरू वाम एकताको कुरा गर्दै हुनुहुन्छ । उता एमालेका नेताहरू भने माओवादीसँग सत्ता सहकार्य मात्रै गरेकाले तत्काल एकता वा सहकार्य नहुने बताउँदै आएका छन् । एमाले अध्यक्ष ओलीले समेत वाम एकता गरे पहिला किन फुटेको भन्ने प्रश्न खडा हुने भन्दै वाम एकताको पक्षमा नभएको स्पष्ट पारेका छन् । यसको मतलब ८४ मा एक्लै लडे पत्तासाप हुने डरले माओवादी एमालेको पछि लागेको हो ?

– अब तपाईंले भने जस्तै तत्काल नै पार्टी एकताको कुरा हामीले पनि गरेका छैनौं । हामीले सहर्काय गर्दै जाँदा पार्टी एकतासम्म पुग्न सकिन्छ भनेका हौं । हारजीतको कुरा बेग्लै होला । अहिले पनि संघीय निर्वाचन अन्तर्गत माओवादीले १३ लाख समानुपातिक मत पाएको छ । त्यसकारण माओवादी आफैं पनि कतिपय ठाउँमा प्रतिस्पर्धा गर्नसक्छ । देशका सम्पूर्ण वडा, पालिका र सबै प्रदेशका निर्वाचन क्षेत्रहरूमा माओवादी एक्लै प्रतिस्पर्धा गर्न तयार छ ।

माओवादी सकियो भन्ने कुरा चाहिँ साँचो होइन । सिट तल-माथि भएको होला । सिट कहिले कसको बढ्छ, कहिले कसको घट्छ । नेपाली कांग्रेसले पनि जम्मा २३ सिट जितेको थियो । अहिले ठूलो दलको रूपमा आयो । एमालेले पनि कुनै बेला थोरै सिट जितेको थियो, अहिले दोस्रो ठूलो दलको रूपमा आयो । माओवादी पहिलो दल थियो, तेस्रो दलको रूपमा आयो । यो निरन्तर चलिरहेको एउटा प्रक्रिया हो । त्यसैले जित्नै नसक्ने भएर वाम एकताको विषय उठाइएको होइन ।

२०६४ सालमा ६०१ सदस्यीय सभामा प्रत्यक्षतर्फ २२९ सिट जितेको माओवादी गठबन्धनको साथ हुँदा पनि गत निर्वाचनमा ३२ सिटमा झर्‍यो । एक्लै चुनाव लडे २०८४ मा माओवादीको नाम समेत हराउने चर्चा चलिरहेको छ । अझ बाबुराम भट्टराईको भनाइलाई मान्ने हो भने तपाईंको पार्टी अध्यक्षले निर्वाचन क्षेत्र नपाउनेसम्मको अवस्था छ । किन जनताहरू माओवादीप्रति निराश हुँदै गए ?

– अब कतिपय गणितीय हिसाबले चुनावको सिट संख्या तल-माथि भएको छ । तर सिटै नपाउने, ठाउँ नै नपाउने भन्ने कुरा साँचो होइन । माओवादी पार्टी आन्दोलनको सुरुवात गर्दा पनि सकिन्छ भनेका थिए ।

त्यसपछि पनि लगातार माओवादी पार्टीले २-३ सिटभन्दा बढी जित्दैन भन्दै आएका छन् । तर माओवादी पार्टीले कतिपय आन्तरिक कुरा सुधार गरेर जनतामा सच्चिएर जानुपर्ने कुरा होलान् ।

हामीले यसबारे अभियान पनि चलाएका छौं । तर माओवादी पार्टी नै हराउँछ भन्ने कुरा साँचो होइन । यो एउटा आन्दोलन हो । धेरै नेपाली जनसमुदायको यो आन्दोलनप्रति आस्था, विचार र उद्देश्य छन् । त्यसकारण अझैं पनि माओवादीले केही गरोस् भन्ने जनताको चाहना भएकाले यो पार्टी अरुले भने जस्तो तुरुन्त सिद्धिन्छ भन्ने कुरा झूटो हो ।

अहिलेको सत्ता गठबन्धन पूरै कार्यकाल टिक्छ या फेरि नयाँ समीकरण बन्छ ?

– अब सरकार ढाल्ने विभिन्न किसिमका चलखेल त भइरहेका छन् । तर बाँकी रहेको कार्यकाल टिक्ने, टिकाउने गरी छलफल भएर नै पछिल्लो समीकरण बनेको हो । त्यसकारण टिक्छ, टिकाउनुपर्छ ।

जतिखेर पनि हामी अस्थिरतातर्फ जानु हुँदैन । सरकार टिकाउन गणित पुर्‍याउनका लागि साना दलको आवश्यक भएको हुनाले उहाँहरूका मागलाई ठूला दलहरूले सम्बोधन गरेर मिलाएर जानुपर्छ । त्यसकारण बाँकी रहेको कार्यकाललाई टिकाउने गरी अगाडि बढ्नुपर्छ ।

तपाईंहरू कांग्रेससँगको गठबन्धनमा हुँदा पनि यो गठबन्धन ५ वर्ष होइन, २५ वर्ष टिक्छ भनेर भाषण ठोक्नुहुन्थ्यो ? तर सुटुक्क कांग्रेससँगको गठबन्धन फुटाउनुभयो, कतिबेला केपी ओलीले काम गर्न दिनुभएन भनेर कांग्रेससँग मिल्नुहुन्छ । फेरि कांग्रेसले काम गर्न दिएन भन्दै एमालेसँग मिल्नुहुन्छ । कहिले यता कहिले उता जान बेर लगाउनु हुँदैन । अहिले जनताको क्षणिक सहानुभूति बटुल्न मात्र वाम एकताको विषय उठाउने माओवादीहरूको इमानमाथि प्रश्न उठेन र ?

– संविधानको मर्मअनुसार संसद् विघटन जुन तत्कालीन प्रधानमन्त्रीले गर्नुभयो, त्यसमा हाम्रो विमति थियो । संविधानको भावना अनुरूप जनताले निर्वाचित गरेर पठाएको संस्थालाई विघटन गर्न मिल्दैन । त्यसकारण असंवैधानिक कदम भएपछि अर्को गठबन्धन बनेको हो ।

अर्को गठबन्धन बनेपछि चुनावमा हामीसँगै मिलेर गयौं र स्थानीय सरकार, प्रदेश सरकार र संघको संरचना पनि त्यहीँ अनुसारको निर्माण भयो । तर, त्यो अभ्यास सोचे जसो त भएन । २५ वर्ष टिक्छ त हामीले भनेकै थिएनौं ।  ५ वर्ष टिक्छ भनेको कुरा साँचो हो ।

अब काम गर्दै जाँदा, कोशी प्रदेशमा सरकारबारे भएको चलखेल, राष्ट्रिय सभाको निर्वाचन, कांग्रेसको महासमिति बैठकको दस्तावेजमा उठाएको विषय, अनि उनीहरूले हामी एक्लै चुनाव लड्छौं भन्ने लगायतका विषयले समीकरण बदलिएको हो ।

ओली र प्रचण्डको बीचमा विगतमा भएको विभाजनको गम्भीर आत्मसमीक्षा भएको र सबै कार्यकर्ताले पनि फुटलाई मन नपराएको हुँदा यो समीकरण बनेको हो ।

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले यो गठबन्धनमा असहज महशुस भइरहेको भन्दै बारम्बार गुनासो गरिरहनुभइरहेको छ । देउवा र माधव नेपालबीच वैकल्पिक गठबन्धन बनाउनेबारे छलफल पनि चलेको छ । हिजो सरकार बनाउँदा माधव नेपालको खुट्टा ढोग्न जाने, अहिले किन तपाईंहरूले उनैलाई उकुसमुकुस बनाइरहनुभएको छ ?

– उकुसमुकुस बनाएकै छैनौं नि ! उहाँले मुख्यमन्त्री चाहियो भन्नुभयो । उहाँले सुदूरको मुख्यमन्त्री पाइसक्नुभयो । अब विश्वासको मत पाउन मात्रै बाँकी छ । कतिपय स्थानीय पालिकामा पनि गठबन्धनबाट चुनाव लडेकाले उहाँका उम्मेदवारहरूले जित्नु पनि भएको थियो ।

अनि संघ र प्रदेशमा पनि उहाँले सहमतिमै सिट पाउनु भएको थियो । अब सत्ता गठबन्धनमा सबै दलका माग पुर्‍याउनुपर्ने भएकाले कतिपय उहाँका मागमा अपुग्ता भएको होला । तर उहाँको कुरालाई सम्बोधन गरिएन भन्ने कुरा साँचो होइन ।

प्रतिक्रिया दिनुहोस
Advertisement