पोखरा – कास्कीको पोखरा महानगरपालिका–४ का वडाध्यक्ष देवकृष्ण पराजुली पक्राउ परेका छन् ।
कर्मचारी र व्यवसायीमाथि कुटपिट गरेको आरोपमा उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले बुधबार पोखराको ढिकीडाँडाबाट पक्राउ गरेको छ ।
कास्कीका प्रहरी प्रमुख श्यामबाबु ओलियाले पक्राउ परेका पराजुलीविरुद्ध अभद्र व्यवहार मुद्दामा थुना अनुमति लिएर अनुसन्धान हुने जानकारी दिए ।
वडाध्यक्ष पराजुलीले मंगलबार दिउँसो पोखरा महमानगरपालिकामा कार्यरत प्रशासकीय अधिकृत ईश्वरीप्रसाद पोखरेल र पोखराको चिप्लेढुंगाका व्यवसायी लेखनाथ सुवेदीमाथि कुटपिट गरेको आरोप लागेको छ ।
मंगलबार प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा पुगेका वडाध्यक्ष पराजुलीले पोखरेलमाथि अपशब्द प्रयोग गर्दै हातपात गरेको आरोप छ । तालिममा कर्मचारी पठाउने विषयमा सल्लाह नगरेको भन्दै वडाध्यक्षले मादक पदार्थ सेवन गरी आक्रोशित भएर दुव्र्यवहार गरेको आरोप छ ।
घटनापछि स्थानीय तह कर्मचारी युनियन, स्थानीय तह कर्मचारी संघ, नेपाल राष्ट्रिय कर्मचारी संगठन र एकीकृत सरकारी कर्मचारी संगठनले संयुक्तरूपमा विज्ञप्ति निकालेर वडाध्यक्षमाथि कारबाहीको माग गरेका छन् ।
प्रतिक्रिया