काठमाण्डु – संघीय संसद्को संसदीय सुनुवाइ समितिका सभापतिको निर्वाचन पर्सि हुने भएको छ ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले साउन ३१ गते सभापतिको निर्वाचन गर्न मिति तोकेका छन् ।
राज्यका निर्देशक, सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको सभापतिको निर्वाचन पनि साउन ३१ गते हुनेछ ।
संघीय संसद्को संयुक्त बैठक संयुक्त समिति कार्यसञ्चालन नियमावली २०८० को नियम २५ बमोजिम गठित संसदीय सुनुवाइ समिति र नियम २८ बमोजिम गठित राज्यका निर्देशक, सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको सभापतिको निर्वाचन मिति साउन ३१ गते हुने सभामुख घिमिरेले घोषणा गरे । सभामुख घिमिरेले निर्वाचन सम्बन्धी सूचना प्रकाशन गर्न संघीय संसदका महासचिव पद्यप्रसाद पाण्डेयलाई निर्देशन दिएका छन् ।
उनले भने, ‘संघीय संसद्को संयुक्त बैठक संयुक्त समिति कार्यसञ्चालन नियमावली २०८० को नियम २५ बमोजिम गठित संसदीय सुनुवाइ समिति र नियम २८ बमोजिम गठित राज्यका निर्देशक, सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको सभापतिको निर्वाचन मिति २०८१ साल साउन ३१ गते गर्ने गरी तोकेको छु । साथै, उक्त निर्वाचनसम्बन्धी सूचना आजै प्रकाशन गर्न संघीय संसद्का महासचिवलाई निर्देश गर्दछु ।’




प्रतिक्रिया