काठमाण्डु – सभामुख देवराज घिमिरेले संघीय संसद्को आउँदो अधिवेशनबाट संविधान र संघीयता कार्यान्वयनसँग जोडिएका महत्त्वपूर्ण विधेयक पारित गर्न राजनीतिक प्रतिबद्धताको खाँचो औंल्याएका छन् ।
संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतकहरूसँगको छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सभामुख घिमिरेले संसद्को कामकारबाही र ‘बिजनेश’ दिने मामिलामा सरकार र राजनीतिक दलको सहयोग एवं समन्वय आवश्यक रहेको बताए ।
सरकारले अधिवेशनका लागि धेरै तयारी गरेको भने पनि पछिल्लो समय महत्त्वपूर्ण भनिएका विधेयक संसद् सचिवालयमा नआएको र दर्ता नभएको उनले बताए ।
उनले भने, ‘लोकतान्त्रिक प्रणाली अवलम्बन गरेका देशमा संसद् कति चलाउने ? के–कस्ता विषयलाई प्राथमिकता दिने ? कसरी अघि बढ्ने भन्नेबारे कार्ययोजना र कार्यतालिका आवश्यक हुन्छ । त्यस्तो कार्यतालिका बनाएर जानुपर्छ, त्यो नै व्यावहारिक र वैज्ञानिक कुरा हो भन्ने लाग्छ । हामीले एउटा पक्षले अड्को थाप्ने, अर्काेले त्यसैलाई बहाना बनाएर अर्कैतर्फ हिँड्ने अवस्था आउन दिनु हुँदैन । सबै जिम्मेवार बन्नुपर्छ ।’
हाम्रो अवस्था, क्षमता, अनुमान, दृष्टिकोण वस्तुवादी हुनुपर्ने बताउँदै उनले आगामी हिउँदे अधिवेशनमा सरकार, राजनीतिक दल र संसद्को प्राथमिकता विधेयकलाई निष्कर्षमा पुर्याउनेतर्फ केन्द्रित हुनु आवश्यक रहेको बताए ।
सभामुख घिमिरेले काम नगरी नहुने अवस्था, अन्तिम क्षण र बाध्यकारी परिस्थितिमा मात्रै काम गर्ने प्रवृत्तिमा सुधारको खाँचो औंल्याउँदै सबै, सधैं सक्रिय भए मात्र संसद् प्रभावकारी बन्न सक्ने बताए । ‘संसद् र संसदीय समितिलाई परिणामुखी तुल्याउन विभिन्न पक्षको उत्तिकै भूमिका रहन्छ । संसद्मा प्रखर रूपमा आफ्नो कुरा राख्ने र सरकारका गतिविधिको निगरानी गर्दै संसद्लाई चुस्त तुल्याउने प्रतिपक्षको पनि दायित्व र धर्म हो,’ उनले भने, ‘परिस्थिति र परिवेशले केही विषय निर्धारण गर्ने भए पनि मुख्य विषयवस्तुमा सत्तापक्ष र प्रतिपक्षबीच सहयोग र समन्वय आवश्यक छ ।’




प्रतिक्रिया