सभामुखसहित दलहरूको निष्कर्ष-प्रतिनिधि सभा विघटन असंवैधानिक र अलोकतान्त्रिक

सभामुखसहित दलहरूको निष्कर्ष-प्रतिनिधि सभा विघटन असंवैधानिक र अलोकतान्त्रिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सभामुख देवराज घिमिरे र राजनीतिक दलको बैठकले संसद् विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको निष्कर्ष निकालेको छ।

प्रतिनिधिसभा विघटनपछि सभामुखको पहलमा पहिलोपटक सिंहदरबारमा बसेको बैठकमा सभामुख घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग छलफल गरेका थिए।

बैठकको सुरुमा सभामुख घिमिरेले लोकतन्त्र, प्रजातन्त्र र संविधान रक्षाका लागि काम गर्ने बताए । जेनजी युवा आन्दोलनपछि गरिएको संसद विघटनबारे नेताहरुको धारणा सुनिसकेपछि सभामुख घिमिरेले भने, ‘लोकतन्त्र, प्रजातन्त्र र संविधान रक्षाका लागि मैले के गर्नुपर्छ गर्छु ।’

उनले बैठकमा प्राप्त सुझावहरुबारे मनन गर्ने र अरु पक्षसँग पनि थप छलफल गर्ने उनले बताए ।

बैठकमा नेपाली कांग्रेसका नेता श्यामकुमार घिमिरे, नेकपा एमालेका नेता महेश बर्तौला, माओवादी केन्द्रका नेता हितराज पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाही, नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे र जनता समाजवादी पार्टी नेपालकी नेतृ रेखा यादव बैठकमा सहभागी थिए ।

बैठकमा कांग्रेसका नेता घिमिरेले प्रतिनिधिसभा विघटन र सरकार गठन दुवै असंवैधानिक रहेको बताए ।

बैठकमा सहभागी एक नेताका अनुसार घिमिरेले निकास खोज्नुपर्ने बताएका थिए । ‘यसको निकास भनेको कि संसद पुनर्स्थापना हो कि चुनाव हो । हाम्रो केन्द्रीय समितिको बैठक पनि चलिरहेको छ,’ उनले भने, ‘यदि सरकारले चुनावमा जाने वातावरण बनाउँछ र शान्ति र सुरक्षाको ख्याल गर्छ भने फ्रेस म्यान्डेटमा जान आपत्ति छैन । चुनावबाट कांग्रेस भाग्दैन ।’

बैठकपछि एमालेका नेता बर्तौलाले बैठकमा सहभागी सबै दलले संसद पुनर्स्थापना गरेर जानुपर्छ भन्ने साझा धारणा राखेको जानकारी गराए ।

उनले सर्वोच्च अदालतमा रिट परेकाले हुने फैसलालाई स्वीकार गर्ने बताए। बैठकमा प्रतिनिधि सभा विघटनको विरोध सबै दलले गरेको पनि उनले जानकारी दिए। उनले जेनजीको माग यहि संसदले पूरा गर्न सक्ने भएपनि ठूलो षड्यन्त्र गरेर विघटन गरेको निष्कर्ष निकालेको बताए ।

उनले भने ‘‘जेनजीले राम्रा विषय पनि उठाएका छन्। संसद् पुनर्स्थापना गरेर संवैधानिक तरिकाबाटै जेनजीले उठाएका माग सम्बोधन हुन्छ। सबै दलहरूको आआफ्नै निर्णय छन्।’

उनले निर्वाचन घोषणा गरेपनि राजनीतिक दलसँग संवाद नगरेको भन्दै दलहरुले आपत्ति जनाएको बताए। उनले सरकारका मन्त्री निर्वाचन गर्ने वातावरणभन्दा भड्काउनतर्फ केन्द्रित रहेको बताए।

यसैगरी एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्ष पाण्डेले राष्ट्रपति कार्यालयबाट संसद विघटनको विज्ञप्ति जारी गर्ने बित्तिकै ८ वटा दलका २२९ जना सांसदले असंवैधानिक भनेर वक्तव्य जारी गरेको उल्लेख गरे। उनले अदालतले सरकार बनेकोदेखि लिएर विघटन असंवैधानिक ठहर गर्‍यो भने नयाँ कोर्सबाट अगाडि बढ्ने बताए।

उनले सर्वोच्चमा मंगलबार १० वटा रिट परेकाले न्यायिक परीक्षण हुने बताए। उनले सभामुख संसद विघटनको मुद्दा लिएर नजाने बताए।

यसैगरी राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले जेनजीका माग सम्बोधन नगरी संसद पुनर्स्थापना गर्न नहुने सभामुखलाई सुझाव दिएको बताए। उनले प्रत्यक्ष कार्यकारी, प्रदेश खारेज लगायतका माग संसद पुनर्स्थापना गरेर पारित गर्ने प्रतिबद्धता जनाएपछि मात्र पुनर्स्थापना हुनुपर्ने बताए।

यस्तै माओवादी नेता हितराज पाण्डेले जेन जीको आन्दोलन दुर्लभ घटना भएको बताए । ‘यसको समीक्षा गर्नुपर्छ । संविधानको किताब हेर्दा एउटा स्थिति देखिन्छ तर अहिले फरक वातावरण छ । सरकारले चुनावको वातावरण बनाओस्, चुनावमा जानुपर्छ,’ पाण्डेले भने ।

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी सहभागी थिएनन्।