महाकाली सन्धिमा हस्ताक्षर नगरेको पूर्वसभामुख घिमिरेको स्पष्टोक्ति

महाकाली सन्धिमा हस्ताक्षर नगरेको पूर्वसभामुख घिमिरेको स्पष्टोक्ति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– झापा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार देवराज घिमिरेले महाकाली सन्धिका विषयमा उठिरहेका जिज्ञासाबारे स्पष्टोक्ति दिएका छन् । सामाजिक सञ्जाल तथा व्यक्तिगत रूपमा सोधिएका प्रश्नलाई लिएर उनले आफूले उक्त सन्धिमा कुनै पनि रूपमा हस्ताक्षर नगरेको दाबी गरेका हुन् ।

घिमिरेले आज जारी गरेको विज्ञप्तिमा महाकाली सन्धिबारे आफू स्पष्ट रहेको र उठेका प्रश्नहरूको जवाफ दिइरहेको उल्लेख गरेका छन् । सन्धिलाई लिएर भ्रम फैलाउने प्रयास भएको भन्दै उनले घृणाको राजनीति नगरी अध्ययन र विश्लेषण गर्न सम्बद्ध पक्षलाई आग्रह गरे ।

केही दिनअघि एक व्यक्तिले भिडियो खिचेर सोही विषयमा प्रश्न गरेको प्रसंग उल्लेख गर्दै घिमिरेले उक्त गतिविधि नियोजित भएको थाहा पाएपछि आफूले जवाफ नदिएको बताए । अहिले उक्त भिडियो अमुक दलको प्रचार सामग्रीका रूपमा प्रयोग भएको दाबी उनको छ ।

‘कुनै पनि सन्धिमा मैले हस्ताक्षर गरेको छैन । त्यस समयमा म सांसद, मन्त्री वा राज्यको कुनै पनि जिम्मेवारीमा थिइनँ,’ विज्ञप्तिमा घिमिरेले भनेका छन् । आफूले लोकतान्त्रिक पार्टीभित्र भएको बहसमा व्यक्तिगत धारणा मात्रै राखेको र त्यसमा पक्ष–विपक्षमा धेरै नेताले विचार राखेको उनको भनाइ छ ।

पार्टीको वैकल्पिक केन्द्रीय सदस्यले छिमेकी देशसँग सन्धि गर्ने हैसियत नै नहुने भन्दै यस्तो आरोप लगाइनु दुखद भएको घिमिरेले उल्लेख गरेका छन् ।

घिमिरेले आफू ५० वर्षदेखि राजनीतिमा सक्रिय रहेको बताउँदै राजनीति आफ्नो लागि सेवा भएको जिकिर गरे । बिनाश्रमको एक रुपैयाँ पनि नलिएको र ओहोदा वा प्राप्तिका लागि राजनीति नगरेको उनको भनाइ छ ।

तीन वर्षअघि प्राप्त जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गरेको दाबी गर्दै घिमिरेले झापा क्षेत्र नं. २ का मतदातालाई विगत तथा पछिल्लो तीन वर्षको आफ्नो कामको निष्पक्ष मूल्यांकन गर्न आग्रह गरेका छन् । आफूबाट कहीँ त्रुटि भेटिए विनम्रतापूर्वक स्वीकार गर्न तयार रहेको उनले विज्ञप्तिमार्फत जनाएका छन् ।