उच्च तहका नेता बोलाएर कार्यक्रम उद्घाटन गर्नु सामन्तवादकै सिको हो : सभामुख घिमिरे


काठमाण्डु – सभामुख देवराज घिमिरेले उच्च तहका नेता र पदाधिकारी बोलाएर कार्यक्रमको उद्घाटन गर्नु सामन्तवादकै सिको भएको बताएका छन् ।

आज बुधबार काठमाण्डुमा फोटो पत्रकार केशवराज थोकरद्वारा लिखित पुस्तक ‘लाइफ इन पेण्डामिक’को लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उनले उच्च तहका नेता र नेतृत्वमा रहेका व्यक्तिलाई बोलाएर कार्यक्रम उद्घाटन गर्ने परम्परा हटाउन जरुरी रहेको बताए ।

साहित्यकार वा पत्रकारितामा जीवन बिताएका लेखकको पुस्तक भएकाले पुस्तक विमोचन कार्यक्रममा पत्रकारहरू नै प्रमुख अतिथि बनाउन योग्य हुने उनको तर्क थियो । उनले राजतन्त्र हुँदा राजा वा राजाको परिवारद्वारा विभिन्न ठाउँमा उद्घाटन, शिलान्यास लगायतका कार्यक्रम हुने भन्दै अहिले पनि सोही कुरालाई निरन्तरता दिनु सामन्तवादकै सिको भएको उनले बताए ।

‘पुस्तक लोकर्पण कार्यक्रममा म नै किन आउनुपर्‍यो होला ? यो विवेचनाको विषय हो । तपाईंहरूले यसमा विवेचना गर्नुस्, निष्कर्ष निकाल्नुस् र एउटा कन्सेप्ट बनाउनुस्,’ उनले भने, ‘विगतमा हाम्रो राजतन्त्र हुँदा उद्घाटन, शिलान्यास गर्न राजा वा राजाको परिवारलाई लगिन्थ्यो । किन भन्दा त्यो एउटा सेन्टर पावर थियो । सामन्तवादलाई अन्त्य गर्नका लागि खेलेको भूमिकामा पत्रकार जगतको भूमिका महत्त्वपूर्ण छ तर हामी त्यसकै सिको त गरिरहेका छैनौं ?’

प्रतिक्रिया दिनुहोस
Advertisement