काठमाण्डु – सभामुख देवराज घिमिरेले संसद् अवरोध खुलाउन सक्रियता देखाएका छन् ।
सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई टेलिफोन गरेका सभामुख घिमिरेले दिउँसो प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र रास्वपाका सभापति तथा गृहमन्त्री रवि लामिछानेसँग कुराकानी गरेका छन् ।
मंगलबार बस्ने संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी छ । सभामुख घिमिरेले प्रधानमन्त्री, प्रमुख प्रतिपक्षी दलका नेता देउवा र गृहमन्त्री लामिछानेसँग फोन वार्ता गरेका सभामुखका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए ।
उनले भने, ‘सभामुख घिमिरेले कांग्रेस सभापति देउवा र रास्वपा सभापति लामिछानेलाई राष्ट्रपति उपस्थित हुने संयुक्त सदनको बैठकअघि नै राजनीतिक सहमति जुटाउन आग्रह गर्नुभएको छ ।’
मंगलबारको संसद् बैठकमा राष्ट्रप्रमुख उपस्थित हुने र अवलोकनका लागि कूटनीतिज्ञहरूलाई आमन्त्रण गरिसकेकाले सौहार्दपूर्ण वातावरण बनाउने भूमिका खेल्न सभामुख घिमिरेले अपिल गरेका छन् ।
सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन हुनुपर्ने माग राख्दै नेपाली कांग्रेसले संसद् अवरुद्ध गर्दै आएको छ । सोमबार बसेको कांग्रेस पदाधिकारी बैठकले यथास्थितिमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुन नदिने निर्णय गरेको छ ।
सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न मंगलबार अपराह्न ३ बजे संघीय संसदको संयुक्त बैठक बोलाइएको छ ।




प्रतिक्रिया