काठमाण्डु – बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेको गृहजिल्ला धादिङमा चुनावी माहोल तातेको छ । जिल्लामा दुई नगरपालिकासहित १३ वटा स्थानीय तह छन् ।
यो जिल्लामा पहिलेदेखि नै एमालेको वर्चस्व छ । ०७४ सालमा भएको स्थानीय चुनावमा एमालेले आठवटा पालिका जितेको थियो । कांग्रेसले दुई तथा माओवादी, राप्रपा र राष्ट्रिय जनमोर्चाले एक–एक पालिकामा जित निकालेका थिए । पृथ्वी राजमार्गआसपासका क्षेत्रमा एमालेको एकछत्र पकड देखिएको थियो ।
उसले धुनीबेसी नगरपालिकाको मेयर–उपमेयर तथा गजुरी, गल्छी, थाक्रे, त्रिपुरासुन्दरी, गंगाजमुना र सिद्धलेक गाउँपालिकामा अध्यक्ष–उपाध्यक्ष नै जित्यो । यस्तै, नेत्रावतीको अध्यक्ष र ज्वालामुखीको उपाध्यक्ष पनि एमालेले जितेको थियो । कांग्रेसले नीलकण्ठ नगरपालिकाको मेयर र ज्वालामुखी गाउँपालिकाको अध्यक्ष तथा बेनीघाट–रोराङको उपाध्यक्ष मात्रै जित्यो । माओवादीले बेनीघाट–रोराङ गाउँपालिकाको अध्यक्ष तथा नीलकण्ठको उपमेयर र नेत्रावतीको उपाध्यक्ष जित्यो ।
राष्ट्रिय जनमोर्चाले खनियावास गाउँपालिकाको अध्यक्ष–उपाध्यक्षमा जित निकाल्यो । एकीकृत समाजवादीका नेता एवं बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेको जिल्ला भएकाले पनि धादिङमा एमाले विभाजनको असर बढी परेको छ । त्यसैले यसपटकको चुनाव एमालेका लागि सहज देखिँदैन । त्यसमा पनि सत्ता गठबन्धनकारी दल मिलेर मैदानमा आएका छन् ।
तालमेलअनुसार कांग्रेसले आठ प्रमुख र चार उपप्रमुख, माओवादी केन्द्रले तीन प्रमुख र पाँच उपप्रमुख तथा एकीकृत समाजवादीले दुई प्रमुख र चारवटा उपप्रमुख पाएका छन् । एमाले छाडेर एकीकृत समाजवादीमा लागेका दुईजना प्रमुख फेरि उम्मेदवार भएका छन् ।
एकीकृत समाजवादीले आफूले पाएको धुनीबेसी नगरपालिकाको मेयरमा बालकृष्ण आचार्यलाई उम्मेदवार बनाएको छ । उनी हाल पनि मेयर नै थिए । यस्तै, समाजवादीले पाएको गल्छी गाउँपालिकाको अध्यक्षमा पनि कृष्णहरि श्रेष्ठ दोहोरिएका छन् । श्रेष्ठ अघिल्लो चुनावमा एमालेबाट विजयी भएका थिए ।
नीलकण्ठ नगरपालिकामा कांग्रेसले पनि पुरानै मेयर भीमप्रसाद ढुंगानालाई दोहो¥याएको छ । कांग्रेसले यसबाहेक गंगाजमुना, नेत्रावती, त्रिपुरासुन्दरी, ज्वालुमुखी, सिद्धलेक, थाक्रे र खनियावास गाउँपालिकामा गठबन्धनका तर्फबाट प्रमुखमा उम्मेदवारी दिएको छ । माओवादीले बेनीघाट–रोराङ, रुबीभ्याली र गजुरीमा प्रमुख पाएको छ ।
पार्टी नफुटेको भए धादिङका कैयौँ पालिकामा एमालेलाई कांग्रेस र माओवादीले मात्रै पनि हराउन नसक्ने अवस्था थियो । तर, अहिले एकीकृत समाजवादीले पनि प्रभाव जमाएपछि जिल्लामा एमाले संकटमा परेको छ । तीन दलको गठबन्धनका कारण उसले आठमध्ये कम्तीमा पाँचवटा पालिका गुमाउनुपर्ने हुन सक्छ । यदि एकीकृत समाजवादीले हल्ला गरेअनुसार मत ल्यायो र गठबन्धन कार्यान्वयन भयो भने यसपटक एमालेलाई धादिङमा ठूलै झट्का लाग्न सक्छ ।
त्यस्तो अवस्थामा एमाले एक वा दुई पालिकामा पनि खुम्चन सक्नेछ । तर, एमालेले भने यसबीचमा अन्य दल छाडेर आउनेको संख्या ठूलो रहेकाले विभाजनले खासै असर नपर्ने दाबी गरिरहेको छ । समग्रमा धादिङको चुनाव एकीकृत समाजवादीले कति मत ल्याउँछ भन्नेमै टिकेको छ ।
जिल्लामा आगामी चुनावका लागि २ लाख ६८ हजार ४ सय ७२ मतदाता छन् । तीमध्ये १ लाख ३६ हजार ४ सय ३१ पुरुष तथा १ लाख ३२ हजार ४० महिला छन् ।

















प्रतिक्रिया