काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड माग गरेको अडियो प्रकरणले रास्वपाभित्र खैलाबैला मच्चिएको छ ।
मन्त्री बन्न रास्वपाका सभापति रवि लामिछानेको ‘कोर टीम’लाई बुझाउन भन्दै सांसद श्रेष्ठले प्रसाईंसँग २ करोड माग गरेको अडियो प्रकरणले यतिबेला रास्वपाभित्र खैलाबैला मच्चिएको हो ।
उक्त अडियो सार्वजनिक भएपछि छानबिन गर्न अडियो टेपको छानबिन गर्न रास्वपाले अनुशासन तथा आचरण समिति गठन गरेको थियो । पार्टीको अनुशासन समितिले मंगलबार सांसद श्रेष्ठसँग एक घण्टा बयान लिएको थियो । समितिले उनलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न सिफारिस गरेको छ ।
बयानका क्रममा सांसद श्रेष्ठले अडियोमा सुनिएको आवाज आफ्नो नभएको र इडिट गरिएको दाबी गरे । उनले आफूलाई षडयन्त्र पूर्वक फसाउन खोजेको बताए । यति बेला ढाकाकुमारले पार्टीसँग आफूलाई सहयोग गर्न आग्रह गरेका छन् । यदि पार्टीले आफूलाई मात्र एक्लोरुपमा कारबाही गर्यो भने कोर टिम खुलासा गर्ने उनले बताए ।
अनुशासन तथा आचरण समितिलाई मंगलबार बयान दिने क्रममा उनले आफूलाई पार्टीले कारबाही गरे कोर टिमको सार्वजनिक रुपमा खुलासा गर्ने चेतावनी दिएका हुन् । यसैबीच श्रेष्ठबारे निर्णय लिन रास्वपाले बोलाएको बैठक केही समयको लागि सरेको छ ।
हिजाे पार्टी सभापति रवि लामिछानेले बुधबार बैठक लिएर श्रेष्ठबारे निर्णय लिने बताएका थिए । यदि श्रेष्ठ अडियो प्रकरणमा दोषी ठहर भएपछि उनलाई कडा कारबाही गर्ने रविको दाबी छ । तर, आफूलाई कारबाही गरे कोर टिमबारे खुलासा गर्ने ढाकाकुमारको चेतावनी छ ।
आइतबार सार्वजनिक भएको अडिओमा सांसद श्रेष्ठले प्रसाईंसँग आफू स्वास्थ्यमन्त्री बन्नका लागि पार्टीलाई रकम बुझाउनुपर्ने भन्दै २ करोड रुपैयाँ मागेका छन् ।
अडियो डिलमा सभापति लामिछानेको नाम पनि लिइएको छ । ‘यो पैसा पनि तपाईंले उही रविलाई त बुझाउनुपर्ला नी हैन रु’ भन्ने प्रसाईंको प्रश्नमा श्रेष्ठले भनेका छन्, ‘मैले रवि सरलाई भन्दा पनि रवि सरलाई देखा पर्नुभएको छैन। बाहिरको दुई जना तीन जना साथीहरू हुनुहुन्छ उहाँहरूलाई दिने हो। पार्टीलाई जान्छ भनेका छन्।’, उनले दुर्गा प्रसाईंसँगको संवादमा भनेका छन् ।




प्रतिक्रिया