काठमाडौं – स्वास्थ्यमन्त्री भानुभक्त ढकालले चीनमा फैलिएको कोरोना भाइरसबाट जोगिन नेपाल सरकारले सबै तयारी गरेको बताएका छन् ।
मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै मन्त्री ढकालले नेपालमा कोरोना संक्रमण आशंका गरिएका १३ जनाको स्वास्थ्य परीक्षण रिर्पाेट नेगेटिभ देखिएको पनि बताए ।
‘नेपालमा अहिलेसम्म कसैलाई पनि कोरोना भाइरस देखिएको छैन । परीक्षण गरिएका १३ जनाको रिपोर्ट पनि नेगेटिभ आएको छ’, उनले भने, ‘यदि संक्रमित बिरामी पाइएमा उपचारका लागि हामी तयार छौँ ।’
चीनले सातामै १ हजार शय्याको अस्पताल बनाउँदा नेपालले केही नगरेको भन्दै आलोचना भइरहेका बेला मन्त्री ढकालले अरुले जे गर्छन् नेपालले त्यही गर्नुपर्छ भन्नु गलत हुने बताए ।
‘चीनले सातामै १००० हजार शय्याको अस्पताल बनायो भनियो । अर्को अस्पताल २ दिनमै बनायो भनियो’, ढकालले भने, ‘कोरोना भाइरस चीनमै देखिएकाले उसले द्रूत गतिमा काम गरिरहेको छ । नेपालले पनि चीनले जसरी नै तयारी गर्न यहाँ कोरोनाको संक्रमण छैन । त्यसैले चीन सरकार जसरी नाच्छ, त्यही तरिकाले हामी नाच्नुपर्दैन । दिल्ली र बेइजिङमा पानी पर्दा नेपालमा आफ्नो आफ्नो पक्षको छाता ओढ्ने दिन अब छैन ।’
मन्त्री ढकालले अहिलेसम्म चीनबाट आउन खोज्ने १८० जनाले फर्म भरेका पनि जानकारी गराए । ‘यो चरणमा आउन चहाने त्यति नै हुन् । अन्य पनि सम्पर्कमा आइरहेका छन् । हामीले चीनबाट संक्रमित होइन, स्वस्थ मानिस ल्याउने हो’, उनले थपे, ‘हामी कोरोना भाइरसविरुद्ध तयारी अवस्थामै छौँ । हामी हाम्रो जोखिमको आँकलन गरेर तयारीमा छौँ ।’
चीनमा यदि कोरोना संक्रमण भएको छ भने त्यो नेपाली नागरिकलाई नेपाल नल्याइने उनल जानकारी दिए । ‘चीनमा परीक्षण गर्दा संक्रमण नभएका व्यक्तिलाई नेपाल ल्याउँछौँ । यहाँ आएकालाई १४ दिन क्वारेन्टाइनमा राखिन्छ’, उनले थपे, ‘विरामी मान्छेलाई ल्याउने होइन, ल्याउने व्यक्तिको चिनियाँ सरकारले परीक्षण गर्छ यदि नेगेटिभ भयो भने मात्रै नेपालमा आउँछ ।’




प्रतिक्रिया