हिजो जेल चलान भएका कांग्रेस सांसद आज छुटे

हिजो जेल चलान भएका कांग्रेस सांसद आज छुटे


काठमाण्डु– आइतबार जेल चलान भएका लुम्बिनी प्रदेशसभा सदस्य तथा कांग्रेस नेता धनबहादुर केसी छुटेका छन् ।

आइतबार  रुकुम पूर्व जिल्ला अदालतमा आत्मसमर्पण गरेका केसी सोमबारनै छुटेका हुन् ।

उनले कानुनअनुसार कैद सट्टामा रकम तिरेर छुटेका हुन् ।

३३ वर्ष पहिले धनबहादुरलाई रुकुम जिल्ला अदालतले कीर्ते मुद्दामा दोषी ठहर गर्दै एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो।

श्रीमतीसँगको अंश मुद्दामा प्रदेश सांसद केसीले कीर्ते गरेको अभियोगमा साविक रुकुम जिल्ला अदालतले उनलाई २०४८ साल असार ९ गते दोषी ठहर गरेको थियो ।

सुरुमा १९ दिन थुनामा बसे पनि पछि केसी अदालतको आदेश बमोजिम धरौटी बुझाएर रिहा भएका थिए ।  पछि अदालतले दोषी ठहर गरेपछि जरिवानाको रकम धरौटीबाट लिइएको भए पनि उनले कैद सजाय भुक्तान गर्न बाँकी नै थियो ।

उनी गत निर्वाचनमा केसी नेपाली कांग्रेसको तर्फबाट रुकुम पूर्वको प्रदेशसभा क्षेत्र नं १ बाट निर्वाचित भएका थिए ।