धनगढी उपमहानगरमा कांग्रेस आफ्नो प्रभाव क्षेत्र बचाउने कसरतमा, यसपटक पनि स्वतन्त्रकै डर

धनगढी उपमहानगरमा कांग्रेस आफ्नो प्रभाव क्षेत्र बचाउने कसरतमा, यसपटक पनि स्वतन्त्रकै डर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  सुदूरपश्चिम प्रदेशको राजधानीसमेत रहेको धनगढी उपमहानगरपालिका कांग्रेसको पकड भएको स्थानीय तह हो । प्रधानमन्त्री शेरबहादुर देउवाको गृह प्रदेशसमेत रहेकाले धनगढीलाई उसले प्रतिष्ठाको विषय बनाउने गरेको छ । गत निर्वाचनमा कांग्रेसले धनगढीमा मेयर,उपमेयरसहित बहुमत वडा जितेको थियो । मेयरमा एमाले शीर्ष तीनमा समेत अटाउन सकेन।

०७४ सालको चुनावी परिणाम

कांग्रेसका नृपबहादुर वडले १४ हजार तीन सय २४ मत ल्याएर मेयरमा बाजी मारे । उनलाई टक्कर दिने अन्य कुनै दल देखिएनन् । बरु स्वतन्त्र रूपमा चुनाव लडेका गोपाल हमाल निकटतम प्रतिद्वन्द्वी बने । उनले ११ हजार पाँच सय २४ मत पाए । तेस्रो स्थानमा रहेको माओवादी केन्द्रका रामसमझ रानाले १० हजार दुई सय नौ र चौथो बनेका एमालेका दुर्गाप्रसाद जोशीले नौ हजार नौ सय ४६ मत पाएका थिए ।

उपमेयरमा पनि कांग्रेसकै सुशीला मिश्र भट्ट १७ हजार चार सय आठ मत ल्याएर विजयी भइन् । दोस्रो स्थानमा रहेकी एमालेकी रुकमणि देवकोटाले १२ हजार सात सय ६३ र तेस्रो स्थानमा माओवादी केन्द्रकी शान्ति अधिकारी क्षेत्रीले १० हजार दुई सय ५२ मत ल्याइन् । १९ वटा वडा रहेको उपमहानगरमा कांग्रेसले १२ वटामा अध्यक्ष जितेको थियो । माओवादी केन्द्रले पाँच तथा एमालेले दुईवटा अध्यक्ष जिते ।

सम्भावित परिणाम

विगतको मतपरिणाम हेर्दा यसपटक पनि कांग्रेस नै बलियो देखिन्छ । तर, यसबीचमा एमालेले पनि संगठन बिस्तार गरेको छ । यसबाहेक धनगढीमा स्वतन्त्र उम्मेदवारको पनि चर्चा हुन्छ । गत निर्वाचनमा स्वतन्त्र लडेर दोस्रो बनेका व्यवसायी गोपाल हमालले फेरि पनि चुनाव लड्ने घोषणा गरिसकेका छन् । बीचमा विवेकशील साझा पार्टीमा प्रवेश गरेका हमाल अहिले उक्त पार्टी छाडेर स्वतन्त्र बनेका छन् । माओवादीबाट उम्मेदवार बनेर तेस्रो स्थान हासिल गरेका रामसमझ राना कांग्रेसमा प्रवेश गरेका छन् । विगतमा सम्मानजनक मतसहित चौथो स्थानमा रहेको एमाले विभाजन हुनु पनि कांग्रेसका लागि लाभदायक हुनेछ ।

यद्यपि, कुन दलले कस्तो उम्मेदवार अघि सार्छ ? त्यसले चुनावी परिणाम तलमाथि हुन सक्नेछ । सत्तासाझेदार दलबीच तालमेलको गृहकार्य पनि भइरहेको छ । कांग्रेसले माओवादीलाई उपमेयर दिएर तालमेल ग¥यो भने एमालेलाई समस्या हुन सक्छ । यद्यपि, हमालले कति मत ल्याउँछन् भन्नेले पनि मेयरमा ठूलो महत्व राख्नेछ । उनी चुनावै जित्ने अवस्थामा भने अहिलेसम्म देखिएका छैनन् ।

उपमहानगरमा एमाले विभाजनको असर पनि केही देखिन्छ । एमालेभित्र गुटबन्दीको फाइदा पनि कांग्रेसलाई नै हुन सक्छ । यसरी हेर्दा यो उपमहानगरपालिकामा गठबन्धन भए या नभए पनि कांग्रेस नै बलियो देखिन्छ । तर, कांग्रेसमा पनि आन्तरिक लडाइँ कम छैन । पार्टीमा मिलाउन सके फेरि पनि कांग्रेसले नै जित्न सक्ने सम्भावना छ । तर, उसले कस्तो उम्मेदवार उतार्छ भन्नेले पनि हारजितको फैसला गर्न सक्छ । एमालेले पनि राप्रपासँग तालमेलको प्रयास गरिरहेको छ ।

सम्भावित उम्मेदवार

कांग्रेसबाट हालका मेयर नृपबहादुर वडले दोहोरिने चाहना राखेका छन् । यद्यपि, उनको पाँचवर्षे कार्यकाल भने सन्तोषजनक देखिएको छैन । हालकी उपमेयर सुशीला मिश्र भट्ट पनि यसपटक कांग्रेसबाट मेयरको दाबेदार हुन् । उनले अब उपमेयर नलड्ने घोषणा गरेर मेयरमा दाबेदारी पेस गरेकी छिन् । यस्तै, व्यवसायी कृष्णबहादुर महरा पनि यसपटक कांग्रेसबाट मेयरमा बलियो दाबेदार हुन् ।

उद्योगी व्यवसायी गोपाल हमालले स्वतन्त्र रूपमा लड्ने घोषणा नै गरिसकेका छन् । एमालेबाट जिल्ला उपाध्यक्ष दुर्गाप्रसाद जोशी र रणबहादुर चन्द मुख्य दाबेदार छन् । यी दुईमध्ये एकले मेयरमा टिकट पाउने चर्चा चलेको छ । माओवादीबाट गत चुनावमा उपमेयर लडेकी शान्ति अधिकारी वडाध्यक्ष बलबहादुर ऐर मेयरका दाबेदार हुन् । एकीकृत समाजवादीबाट नगर अध्यक्ष मदन रेग्मीको नाम चर्चामा छ ।

मतदाता

धनगढी उपमहानगरपालिकामा ०७४ सालको निर्वाचनमा ७६ हजार चार सय ३० मतदाता थिए । तीमध्ये ४७ हजार सात सय ६६ मत सदर भएको थियो । यसपटक मतदाताको संख्या ९३ हजार एक सय ५१ पुगेको छ । अर्थात् १७ हजार सात सय २१ मतदाता बढेका छन् । बढेका मतदाता पनि चुनावमा निर्णायक हुन सक्नेछन् ।