मेयर नबन्दै पाेखराका धनराज आचार्यले मागे संघीय सरकारबाट बजेट

मेयर नबन्दै पाेखराका धनराज आचार्यले मागे संघीय सरकारबाट बजेट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पाँच दलीय गठबन्धनबाट पोखरा महानगरपालिकाको मेयर पदका उम्मेदवार धनराज आचार्यले संघीय सरकारबाट बजेटको माग गरेका छन् । एमालेले आफ्नो गढ दाबी गरेका पोखरा महानगरपालिकाका वडाहरूको मत गणना चलिरहेको थियो । १५, १६, १७, २१ र ३३ लगायत वडामा करिब दोब्बर मतले यसअघि एमालेले जितेका थिए । ती वडा आइपुग्नुअघि केही मतले मात्र आचार्यले अग्रता लिएका थिए । सबैको ध्यान यिनै वडाहरूमा थिए कि यहाँबाट एमालेले लिड गरे चुनाव जे पनि हुन सक्छ ।

यस्तै अन्योलका बीच धनराज आचार्य आइतबार काठमाण्डु गए । पोखराका प्रमुख योजनाहरू संघीय सरकारलाई बुझाए । विशेषगरी ल्यान्डफिल साइट स्थानान्तरण गर्न उनको माग छ । निर्माणाधीन पोखरा अन्तराष्ट्रिय विमानस्थल चल्न ल्यान्डफिल हटाउनु पर्ने पहिलो सर्त छ ।

अघिल्ला जनप्रतिनिधिले पाँच वर्षे कार्यकालमा गर्न नसकेको ल्यान्डफिल सार्ने योजनामा अहिले गठबन्धनका उम्मेदवारले पहिलो चासो दिए । त्यहाँबाट ल्यान्डफिल सार्न आवश्यक बजेट मागेको आचार्यले बताए । ‘पोखराको प्रमुख चिन्ता ल्यान्डफिल हो । यो सार्नुपर्छ, उनले भने, अहिले संघ सरकारले बजेट बनाउँदै छ। यहि वर्ष बजेट नहाले ढिलो हुन्छ । त्यसैले अर्थमन्त्रीसँग आग्रह गरेर आएको छु । ’

उनले पोखरालाई पर्यटकीय राजधानी घोषणाको माग राखेर आएका छन् । ‘पोखरा पर्यटनको राजधानी हो । मौखिक रुपमा सबैले भनेका छन् तर आधिकारिक घोषणा किन नगर्ने ? उनी भन्छन्, यसपालि नीति तथा कार्यक्रममा यो एजेण्डा राख्नुपर्छ भनेको छु । सायद सम्बोधन हुन्छ । पोखरामा मतगणना जारी छ । अब तीन हजार मत गन्न बाँकी छ । ’ चुनाव जित्ने पक्का भएकै कारण काठमाण्डु पुगेर बजेट छुट्याउन आग्रह गरेको उनले बताए । आचार्यले अहिले चुनाव जितिसकेका छन् । गणना गर्न बाँकी मतभन्दा उनको अग्रता बढी भएपछि चुनाव जितेका हुन् ।