काठमाण्डु- नेपाली कांग्रेसका उपसभापति एवं सांसद धनराज गुरुङले आगामी वर्षको बजेटका लक्ष्यअनुसार राजस्व सङ्कलन हुनेमा आशङ्का व्यक्त गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै उनले राजस्व बढाउन करका दायरा र गैरकानुनी कारोबार बन्द गर्नुपर्ने धारणा राखेका हुन् ।
सांसद गुरुङले बजेटमा समेटिएको गाँजाखेतीको विषयलाई कानुन बनाएर कार्यान्वयनमा लैजानुपर्ने भन्दै आफू कानुनमन्त्री हुँदा यसबारेमा कोसिस गरेको समेत स्मरण गरे ।
‘औषधिका रूपमा गाँजाखेती गर्न सकियो भने रु दुई खर्ब र घरेलु मदिरालाई ब्रान्डिङ गरे थप रु दुई खर्ब राजस्व सङ्कलन गर्न सकिन्छ । त्यस्तै नेपालमा रहेका सात सय ३६ जातका जडीबुटीको व्यावसायिक खेती गरेर थप रु दुई खर्ब आम्दानी गर्न प्रशस्त सम्भावना छ । यसतर्र्फ पनि सोच्न जरूरी छ’, उनले भने ।
उनले देश बनाउन सबै मिलेर अगाडि बढ्नुपर्ने, सत्तामा बस्दा र नबस्दा पनि देश बनाउने सङ्कल्पका साथ काम गर्नुपर्ने उनको भनाइ छ ।




प्रतिक्रिया