काठमाण्डु – नेपाली कांग्रेसको उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भएका छन् ।
काँग्रेसको १४ औँ महाधिवेशनमा उपसभापति पदका लागि भएको निर्वाचनमा सभापति शेरबहादुर देउवा प्यानलका खड्काले सबैभन्दा धेरै २१२१ मत ल्याएका छन् भने शेखर कोइराला प्यानलका गुरुङ १९०८ मत ल्याएर विजयी भएका हुन् ।
यसअघि देउवा कांग्रेस सभापतिमा निर्वाचित भइसकेका छन् । देउवा पक्षका अर्का उम्मेदवार विजयकुमार गच्छदारले १९०६ मत ल्याए । उनी २ मतअन्तरले मात्रै गुरुङसँग पराजित भएका हुन् ।
यस्तै, अन्य उम्मेदवारमा चन्द्र भण्डारीले १५८०, सुजाता कोइरालाले ६४४, महेश आचार्यले ५८९ र दिव्यश्वरी शाहले १३२ मत पाए ।
सोमबार सम्पन्न मतदानमा उपसभापतिका लागि ४ हजार ६७९ मत खसेको थियो । दुई उपसभापतिका लागि ७ जना चुनावी मैदानमा थिए ।
जसमा देउवाको प्यानलबाट विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का, शेखर कोइराला प्यानलबाट चन्द्र भण्डारी र धनराज गुरुङ, प्रकाशमान सिंह प्यानलबाट सुजाता कोइराला र विमलेन्द्र निधि प्यानलबाट दिव्यश्वरी शाह उपसभापतिको दौडमा रहेका थिए । महेश आचार्य भने स्वतन्त्र उठेका थिए ।




प्रतिक्रिया