चुनावमा जान डराएका दलहरू गठबन्धन गरेर जानुपर्छ भनेर रुवावासी गरिरहेका छन् : उपसभापति गुरुङ

चुनावमा जान डराएका दलहरू गठबन्धन गरेर जानुपर्छ भनेर रुवावासी गरिरहेका छन् : उपसभापति गुरुङ


काठमाण्डु- नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी निर्वाचनमा कांग्रेस एक्लै चुनाव लड्ने बताएका छन् । गुहजिल्ला स्याङजामा कांग्रेसको नवनिर्वाचित जिल्ला नेतृत्वको पदस्थापन कार्यक्रममा उपसभापति गुरुङले गठबन्धनको नाममा चुनावमा अन्य दलसँग तालमेल नगर्ने बताएका हुन् । उनले कांग्रेसको पछाडि अन्य दलहरु लागे पनि चुनावमा कांग्रेस एक्लै जाने बताएका हुन् ।

चुनावमा जान डराएका दलहरू गठबन्धन गरेर जानुपर्छ भनेर रुवावासी गरिरहेको गुरुङले टिप्पणी गरे । ‘कांग्रेसको खुट्टा तन्दुरुस्त भएकोले एक्लै गर्ने हो, बैशाखी टेक्ने होइन । हामी चार भाइ देउसी खेल्न आयौँ भनेर भनेजस्तो गरेर चुनावमा जाने होइन,’ गुरुङले भने । उनले हालको गठबन्धन संविधान र जनताको सर्वोच्च संस्था संसद बचाउने सन्दर्भमा बनेको बताए ।

‘संविधान र जनताको सर्वोच्च संस्था संसद बचाउने सन्दर्भमा यो गठबन्धन बनेको हो र त्यसैको बाइप्रडक्टको रुपमा सरकार बनेको हो । गठबन्धनलाई कायम राख्दै कांग्रेसको काँधमा चढेपछि मात्र वैतरणी तर्न सकिन्छ भनेर केही दलले भनिरहेका छन्,’ गुरुङले भने, ‘हिजोको दिनमा बाबुराम भट्टराई, महन्थ ठाकुर र प्रचण्डकी सुपुत्रीलाई पनि बोकेको हो । तर चुनावमा जितेर पल्लो किनारामा पुगेपछि धन्यवाद भन्न भन्दा कांग्रेसलाई फोहोर गरेर ओर्लिए । माघ १२ गते हुने राष्ट्रिय सभा चुनावमा भने पाँच दलीय गठबन्धनले चुनावी तालमेल गर्ने निर्णय गर्दै सिटको भागवण्डा गरेका छन् ।