सहकारीको १५ करोड अपचलन गरेको आरोपमा कांग्रेस उपसभापति गुरुङमाथि उजुरी

सहकारीको १५ करोड अपचलन गरेको आरोपमा कांग्रेस उपसभापति गुरुङमाथि उजुरी


काठमाण्डु– नेपाली कांग्रेसका उपसभापति एवं पूर्वमन्त्री धनराज गुरुङ विरुद्ध सीआईबीमा उजुरी परेको छ ।

ललितपुरस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थाबाट उनले रकम अपचलन गरेको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) मा उजुरी परेको बताइएकाे छ ।

मितेरी बचत तथा सहकारी संस्थाकी तत्कालीन सञ्चालक ज्योति गुरुङ र धनराजको विरुद्धमा सहकारीका अध्यक्ष कुम्भराज गुरुङले सीआईबीमा उजुरी दिएका हुन् ।

यता सीआईबीले भने उनीविरुद्ध कुनै उजुरी नपरेको बताएको छ । ”सहकारीका उजुरी त आइरहेका छन् तर उहाँ (धनराज गुरुङ) नाम तोकीएर कुनै उजुरी हामीकहाँ आएको छैन” सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले काठमाण्डुपाटीलाई बताए ।

धनराज र ज्योति श्रीमान-श्रीमती हुन् । उनीहरुमाथि करिब १५ करोड रुपैयाँ अपचलन गरेको आरोप छ ।

कुम्भराज गुरुङले गत साता सहकारी वचत अपचलनसम्बन्धी छानबिन गर्न गठित संसदीय विशेष समितिमा गएर बयान समेत दिइसकेका छन् ।