काठमाण्डु – धनुषा मधेस प्रदेशको केन्द्र हो । प्रदेश राजधानी जनकपुरधाम पनि यही जिल्लामा छ । धनुषामा १८ वटा स्थानीय तह छन् । तीमध्ये एक उपमहानगर, १० नगरपालिका र बाँकी गाउँपालिका छन् । जिल्लामा कांग्रेस, एमाले, माओवादी र मधेसकेन्द्रित दलबीच प्रतिस्पर्धा छ ।
कांग्रेस नेता विमलेन्द्र निधि, एमाले नेता रघुवीर महासेठ तथा माओवादीका नेता मातृका यादवको गृहजिल्ला भएकाले यहाँ तीनवटै दलले जोड लगाइरहेका छन् । ०७४ सालको स्थानीय चुनावमा धनुषामा कांग्रेसले वर्चस्व जमाएको थियो । उसले आठवटा पालिका जितेको थियो । एमालेले चार तथा माओवादी, राजपा र संघीय फोरमले दुई–दुई पालिकामा जित निकालेका थिए ।
कांग्रेसले कमला, क्षिरेश्वर, धनुषाधाम र नगराइन नगरपालिकामा मेयर–उपमेयर, सबैलामा मेयर तथा औरही, जनकनन्दिनी र धनौजी गाउँपालिकामा अध्यक्ष–उपाध्यक्ष जितेको थियो । एमालेले मिथिला–बिहारी र मिथिला नगरपालिकाको मेयर–उपमेयर तथा बटेश्वर र मुखियापट्टी–मुसहरमिया गाउँपालिकामा अध्यक्ष–उपाध्यक्ष जित्यो ।
राजपाले जनकपुरधाम उपमहानगरपालिका र हंसपुर नगरपालिकाको मेयर–उपमेयर, माओवादीले विदेह र सहिदनगर नगरपालिकाको मेयर–उपमेयर तथा संघीय समाजवादी फोरमले गणेशमान–चारथान नगरपालिकाको मेयर तथा लक्ष्मीनिया गाउँपालिकाको अध्यक्ष–उपाध्यक्ष जितेको थियो । माओवादीले थप दुई उपप्रमुख पनि जितेको थियो । १६ वटा पालिकामा प्रमुख–उपप्रमुख एउटै दलबाट चुनिएका थिए ।
सत्ता साझेदार दलबीच केन्द्रमा भएको तालमेलअनुसार जनकपुरधाम उपमहानगरपालिका जसपाको भागमा परेको छ । जसपाले अहिलेकै मेयरलाई अघि सारेको छ । तत्कालीन राजपाबाट निर्वाचित लालकिशोर साह लोसपामा नगई जसपामै बसेका थिए । यद्यपि, उनी नगर क्षेत्रमा खासै लोकप्रिय छैनन् । लोसपाले कांग्रेस छाडेर आएका मनोज चौधरीलाई मेयरको उम्मेदवार बनाएको छ । माओवादीले जितेका दुवै नगरपालिकामा कांग्रेससँग प्रतिस्पर्धा छ ।
एमालेले झिनो मतान्तरले कांग्रेसलाई हराएको बटेश्वरमा यसपटक यसै भन्न सकिने अवस्था छैन । एमालेले जितेको मिथिला नगरपालिकामा माओवादी र जसपा मिलेका छन् । यहाँ कांग्रेस पनि बलियो छ । मिथिला–बिहारी नगरपालिकामा बहुपक्षीय प्रतिस्पर्धा छ । मुखियापट्टी–मुसहरमिया गाउँपालिकामा एमाले बलियो छ ।
कांग्रेसले जितेकामध्ये अधिकांश पालिकामा मतान्तर फराकिलो छ । तर, केहीमा जसपाले उसलाई समस्यामा पार्न सक्छ । गणेशमान–चारथान नगरपालिकामा जसपा र माओवादीबीच प्रतिस्पर्धा छ । पहिले राजपाले जितेका पालिकामा भने नतिजा उल्टन सक्छ । धनुषामा व्यक्तिगत प्रभावका आधारमा पनि मत जाने भएकाले परिणाम आकलन गर्न गाह्रो छ । तर, समग्रमा कांग्रेस नै ठूलो दल बन्नेमा भने शंका छैन । तर, उसले विगतमा जितेका केही पालिका गुमाउन सक्छ ।
एमालेले पार्टी फुटे पनि विगतको नतिजा दोहो¥याउन सक्छ । लोसपा घाटामा र जसपा फाइदामा जाने सम्भावना छ । माओवादीको अवस्था उस्तै हुन सक्छ । आगामी चुनावका लागि धनुषामा ४ लाख ६७ हजार ३ सय ८८ मतदाता छन् । तीमध्ये २ लाख ४८ हजार ८ सय ४० पुरुष र २ लाख १८ हजार ५ सय ४२ महिला छन् । ६ जना अन्य छन् ।





प्रतिक्रिया