काठमाण्डु – जनकपुरधाम उपमहानगरपालिका रहेको धनुषा–३को चुनाव रोचक मोडमा छ ।त्यहाँ नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बीच त्रिपक्षीय चुनावी भिडन्त हुने देखिएको छ । निर्वाचनमा अन्य दल र स्वतन्त्र उम्मेदवार भएपनि प्रतिस्पर्धा तीन दलबीच नै हुने आंकलन छ ।
कांग्रेसका पूर्वउपसभापति रहेका बिमलेन्द्र निधि, एमालेकी जुली महतो र रास्वपाका प्रवक्ता मनिष झा त्रिपक्षीय प्रतिस्पर्धी हुन् ।
धनुषा निधिको गृह जिल्ला र पटक–पटक निर्वाचन लड्दै आएको जिल्ला हो । यो क्षेत्र सबै मुख्य दलका लागि राजनीतिक र रणनीतिक क्षेत्र पनि हो । यद्यपी राजनीतिक रूपमा यो क्षेत्रमा कांग्रेसको बलियो पकड भएको मानिन्छ । मधेश राजनीतिमा सधैं चर्चामा रहने यो क्षेत्रमा यसपटक पुराना र अनुभवी नेताहरूसँगै नयाँ अनुहार पनि उम्मेदवार छन् ।
२०४६ पछि भएका निर्वाचनमा यस क्षेत्रमा सबैभन्दा धेरै पटक कांग्रेस विजयी भएको छ ।२०४८, २०५१ र २०५६ सालमा भएको निर्वाचनमा नेपाली कांग्रेसका आनन्दप्रसाद ढुंगाना लगातार तीन पटक निर्वाचित भएका थिए ।
त्यसपछि २०६४ र २०७०मा भएको पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसका विमलेन्द्र निधि विजयी भए ।२०७४ मा राष्ट्रिय जनता पार्टी नेपालका राजेन्द्र महतो र २०७९ मा एमालेकी जुलीकुमारी महतो निर्वाचित भए ।
यसपटक निधि र महतो एकै क्षेत्रबाट उम्मेदवार बनेपछि नतिजा कसको पक्षमा जाला भन्ने अनुमान लगाउन कठिन छ । उनीहरूको प्रतिस्पर्धामा झा पनि मिसिएपछि भिडन्त झन रोचक बनेको छ ।
‘बालेन फ्याक्टर’ले काम गर्ला ?
नयाँ दलले नयाँ अनुहारलाई उम्मेदवार बनाएपछि चुनावी अंकगणित थप रोमाञ्चक बन्ने देखिएको छ ।कांग्रेस र एमाले बलियो संगठन र यसका उम्मेदवारको आफ्नो व्यक्तिगत प्रभाव भएपनि रास्वपाले भने उनीहरूलाई चुनौती दिएको छ । पुराना दल र नेताहरूप्रति बढेको वितृष्णाको फाइदा रास्वपाले उठाउन खोजेको छ ।
रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले माघ ५ गते जनकपुरधाममा आयोजित सभालाई सम्बोधन गरेपछि त्यसको सकारात्मक प्रभाव परेको पार्टीका नेताहरूको बुझाइ छ ।
रास्वपाका झा यहीं क्षेत्रका बासिन्दा हुन् । उनले ‘बालेन फ्याक्टर’ र नयाँ राजनीतिक तरंगलाई आधार बनाएर पुराना दलका अनुभवी उम्मेदवारहरूलाई चुनौती दिने आंकलन छ ।
यसपटक निर्वाचनमा एमाले र कांग्रेसबिच नै कडा टक्कर हुने देखिन्छ । तर जेन जी आन्दोलन पछि भएको राजनीतिक परिवर्तनपछि मतदाताले पनि नयाँ खोजेको सन्दर्भमा रास्वपाका झा पनि बलियो प्रतिस्पर्धीका रूपमा देखिन्छन् ।
यस पटक गत निर्वाचनको भन्दा समीकरण बदलिएको छ । गत निर्वाचनमा यस क्षेत्रमा कांग्रेसले लोसपालाई समर्थन गरेको थियो । गत निर्वाचनको समानुपातिक मतको विश्लेषण गर्दा यस क्षेत्रमा कांग्रेसको मत नै धेरै छ ।
तर यस पटक रास्वपाको लहर र कांग्रेसबाट निधि उम्मेदवार रहेका कारण एमालेलाई मुस्किल हुने देखिन्छ ।
गत निर्वाचनमा मधेशमै रास्वपा कमजोर रहेकोमा यस पटक बालेन शाहलाई नै प्रधानमन्त्रीको उम्मेदवार बनाएर रास्वपाले मधेशको जनमत लिने कोसिस गरिरहेको छ ।
निर्वाचन आउन एक साता मात्र बान्की रहँदा मतदाता अहिलेसम्म पर्ख र हेरको अवस्थामा छन् ।
उनीहरूको मनोविज्ञान अझै पनि कसलाई मत दिने भन्ने निष्कर्षमा पुगिसकेका छैनन् । केही मतदाता परिवर्तनको पक्षमा देखिएका छन् । त्यसले मत परिवर्तन हुन सक्ने सम्भावना पनि प्रवल छ ।
धनुषा–३ मा मुखियापट्टी मुसहरनिया, नगराईन नगरपालिका, धनौज गाउँपालिका, विदेह नगरपालिकाको वडा नम्बर ९ र जनकपुर उपमहानगरपालिकाको वडा वडा नम्बर १ देखि ८ सम्म तथा वडा नम्बर १०, १२, १५, १६ र २० सम्म र वडा नम्बर २३, २४ र २५ समावेश छन् ।
यस क्षेत्रमा यहाँ कुल मतदाताको संख्या एक लाख २५ हजार ९२७ जना छन् । यस क्षेत्रमा यस निर्वाचनमा १५५ मतदान केन्द्र तोकिएको छ ।




प्रतिक्रिया