धरान उपमहानगरपालिका : ढलेको लालकिल्ला फेरि उठ्ला, कि चार तारा झन् दरिलोसँग गाडिएला ?

धरान उपमहानगरपालिका : ढलेको लालकिल्ला फेरि उठ्ला, कि चार तारा झन् दरिलोसँग गाडिएला ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – धरान उपमहानगरपालिका एउटा यस्तो स्थानीय तह हो जहाँका प्रमुखको कार्यकालको बीचमै देहान्त भयो । मेयरका लागि उपनिर्वाचन भएको पनि यो एउटा मात्रै नगर हो । पूर्वको लालकिल्ला भनिने धरान पनि ती मेयरसँगै ढल्यो ।

अनि पहिलोपटक धरान उपमहानगरपालिकामा कांग्रेसले आफ्नो झन्डा गाड्यो । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा धरानमा अब के होला भन्ने चासो पनि बढ्दै गएको छ । लालकिल्ला फेरि फर्किएला कि चारतारे झन्डा अझ दरिलोसँग गाडिएला त ? यही प्रश्न अहिले धेरैतिर देख्न सकिन्छ । सुनसरीमा दुईवटा उपमहानगरपालिका छन् ।

त्यसमध्येकै एक धरान फेसन र लाहुरेको सहरका रूपमा चिनिन्छ । यो उपमहानगरमा ०७४ सालको चुनावमा एमाले विजयी भएको थियो । एमाले र माओवादीबीच एकीकरण भयो र नेकपा बन्यो । दुर्भाग्यवश धरानका मेयरको निधन भयो । त्यसपछि भएको उपचुनावमा कांग्रेसले नेकपालाई नै हरायो । अर्थात् लालकिल्ला तोडियो । अब कांग्रेसले त्यही परिणामलाई निरन्तरता देला या फेरि एमालेले पुनरागमन गर्ला ? अहिलेको मुख्य प्रश्न यही बनेको छ ।

०७४ सालको चुनावी परिणाम

०७४ सालको चुनावमा यो उपमहानगरमा एमालेले मेयर–उपमेयर दुवै जितेको थियो । मेयरमा तारा सुब्बा २० हजार नौ सय ७५ मत प्राप्त गरी विजयी बने । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका तिलक राईले १६ हजार एक सय दुई मत पाए । तेस्रो स्थानको माओवादी केन्द्रका अइन्द्रविक्रम बेघाले ११ हजार एक सय ८० मत ल्याए । उपमेयरमा एमालेकी मञ्जु भण्डारी सुवेदी २१ हजार दुई सय ५६ मत पाएर विजयी भइन् ।

कांग्रेसकी श्यामा रेग्मीले १४ हजार नौ सय १७ मत ल्याइन् । यहाँ संघीय समाजवादी फोरम र माओवादी मिलेर लडेका थिए । मेयरमा माओवादी र उपमेयरमा फोरमका उम्मेदवार थिए । तेस्रो स्थानमा फोरमका पारस राईले पाँच हजार एक सय ८१ मत ल्याएका थिए । यस्तै, स्वतन्त्र उम्मेदवार मेहरमान हयुज गिरी ११ सय मत ल्याउन सफल भए । वडा तहमा पनि एमालेले वर्चस्व स्थापित ग¥यो । २० मध्ये १४ वडाध्यक्ष एमालेले जित्यो । कांग्रेसले पाँच र माओवादी केन्द्रले एकमा अध्यक्ष जित्न सफल भए ।

उपचुनावको परिणाम

मेयर तारा सुब्बाको ०७५ सालमा निधन भयो । मिर्गौला प्रत्यारोपण गरेका सुब्बाको निमोनियाका कारण काठमाडौंमा निधन भएको थियो । त्यसको अर्को वर्ष धरानमा मेयरका लागि उपचुनाव भयो । यो वेलासम्म एमाले र एकीकृत माओवादी मिलेर नेकपा बनिसकेको थियो । ०७४ सालमा पाएको मतअनुसार दुई दल मिल्दा ३२ हजारभन्दा बढी मत हुन्थ्यो । अर्थात् कांग्रेसभन्दा करिब १५ हजार धेरै । यस्तोमा नेकपा ढुक्क थियो ।

नेकपाबाट प्रकाश राई र कांग्रेसबाट तिलक राई नै उम्मेदवार बनेका थिए, तर परिणाम उल्टियो । अर्थात् कांग्रेसले लालकिल्ला तोड्यो । तिलक राई २६ हजार सात सय नौ मत पाएर मेयरमा निर्वाचित भए । उनले अघिल्लोपटक भन्दा करिब १० हजार मत बढी पाएका थिए । एमालेका प्रकाशले २३ हजार नौ सय १४ मत पाए ।

आगामी चुनावको अंकगणित

धरानमा सबै अंकगणित फेल भएका छन् । किनकि तत्कालीन एमाले र माओवादीको मत एकै ठाउँमा हुँदा पनि कांग्रेसले जितेको छ । वडा तहमा हेर्दा अहिले पनि एमालेको अत्यधिक मत देखिन्छ । तर, मेयरमा भने कांग्रेसले जितेको छ । आगामी चुनावमा सत्तासाझेदार दलले मिलेर चुनाव लड्ने बताइसकेका छन् । कांग्रेस, माओवादी, समाजवादी दललगायतले सकेसम्म एउटै चुनाव चिह्नबाट लड्ने गरी छलफल अघि बढाएका छन् । यसले एमाले झन् अप्ठेरोमा परेजस्तो देखिन्छ । सत्तासाझेदार दलबीच पद बाँडफाँडसमेत मिलेको बताइन्छ । कांग्रेसले मेयर र माओवादीले उपमेयर लिने गरी समझदारी भएको छ । गत चुनावमा नेकपाको पराजयको मुख्य कारण घरबहाल कर बढाउनुलाई लिइएको थियो । यसपटक एमाले आफैँ विभाजित भएको छ । एकीकृत समाजवादीले पनि धरानमा संगठन निर्माण गरिरहेको छ । कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी एक ठाउँमा आउँदा धरानमा एमाले पछि पर्न सक्ने कतिपय विश्लेषकको अनुमान छ । तर, धरानका मतदाताको भर छैन । उनीहरू मुद्दाकेन्द्रित हुन थालेका छन् । त्यसैले आगामी चुनावमा पनि उम्मेदवार र उसले उठाउने मुद्दा हेरेर नै उनीहरूले मतदान गर्न सक्छन् । त्यस्तो अवस्थामा कसले बाजी मार्छ भन्न सकिने अवस्था देखिन्न् । तर, दलीय समीकरणका हिसाबले भने धरानमा सत्तागठबन्धन नै अगाडि देखिन्छ ।

सम्भावित उम्मेदवार

धरानको मेयरमा एमालेबाट उपमेयर मञ्जु भण्डारी, पूर्वमेयर मनोज मेयाङ्बो, उपचुनावमा मेयरका उम्मेदवार प्रकाश राईलगायतले दाबी गरेका छन् । अन्य दाबेदारमा मुरारी सुवेदी, विजय राई, मोतीराज सुनुवारलगायत छन् । कांग्रेसबाट हालका मेयर तिलक राई, किशोर राई, उमेश थापालगायतले दाबी गरेका छन् । माओवादी केन्द्रबाट अइन्द्रविक्रम बेघा र पूर्वसांसद किरण राईको दाबी छ ।

मतदाता संख्या

०७४ सालको चुनावमा धरान उपमहानगरमा ७९ हजार दुई सय ९० मतदाता थिए । ०७६ सालको उपचुनावमा १३ हजार पाँच सय ६३ मतदाता थपिएर ९० हजार आठ सय ५३ पुग्यो । आगामी चुनावका लागि धरानमा मतदाताको संख्या एक लाखभन्दा बढी पुगेको छ ।